सरकारले प्रतिपक्षमाथि दादागिरी गरिरहेको छ : एमाले सचेतक बर्तौला



बुटवल। 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले प्रतिपक्षीमाथि दादागिरी गरिरहेको बताएका छन् । सचेतक बर्तौलाले प्रतिपक्षी दलले उठाएका मागहरुमा सरकार जबाफदेही र जिम्मेवार हुनुको साटो प्रतिपक्षका माग पूरा गर्न सकिन्न भनेर दादागिरी गरिरहेको  आरोप लगाए ।

सरकारले संविधान, संसदीय मूल्यमान्यतामाथि लज्जास्पद आक्रमण गरिरहेको छ,यसै कारण संसद् अवरोध हुन पुगेको हो तर प्रतिपक्षले संसद् अवरोध गरेको भ्रम फैलाएको उनको कथन छ ।

प्रेस चौतारी रुपन्देहीले शनिवार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सचेतक बर्तौलाले सत्ता साझेदार दललाई धम्काएर प्रधानमन्त्रीले सत्ताको आयु लम्बाइरहेको पनि बताए । सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी, गौर हत्याकाण्ड लगायतका प्रकरणहरुमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुलाई पालैपालो डर देखाएर सत्ताको आयु लम्बाउने काम गरिरहेको उनको आरोप छ ।

प्रधानमन्त्रीले फाइल खोल्छु भन्दै डर देखाएर शेरबहादुर देउवा,माधव नेपाल,उपेन्द्र यादव र बाबुराम भट्टराईसम्मलाई धम्काउँदै सत्ताको आयु लम्बाउने षडयन्त्र गरिरहेको टिप्पणी गरे ।

सुन तस्करी प्रकरणमा सिआईबीको अनुसन्धान सरकारको दबाब र प्रभावमा परेको घटनाक्रमले देखाएकाले नेकपा एमाले उच्चस्तरीय छानबिन समितिको अडानबाट पछि नहट्ने दोहो¥याए ।

सरकारको नेतृत्वकर्ता दल र प्रधानमन्त्रीबाट संसदीय मूल्यमान्यता र संविधानमाथि प्रहार हुँदा संसद्को ठूलो दल नेपाली काँग्रेस समेत मूकदर्शक बनेको बर्तौलाको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्