सुतेकै ठाउँमा पुरियो परिवार, ५ बेपत्ता, एकको निधन, १४ घण्टापछि एकको जीवितै उद्धार



काभ्रे, हेटौंडा । अविरल वर्षाका कारण जिल्लाको विकट गाउँपालिका खानीखोला ५ काभ्रेका ६ जना र सिन्धुली जिल्ला हरिहरपुर–१ का एक जना गरी ७ जनालाई सुतिरहेको अवस्थामा घरसहित खोलाले बगाउँदा ५ जना अझै बेपत्ता छन् । एकको उद्धारपछि उपचारका क्रममा निधन भएको छ । एकको १४ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुली र मकवानपुर जिल्लाको संगम मकवानपुर जिल्ला वागमती गाउँपालिका–५ सिक्रेदोभानमा खानीखोला गाउँपालिका–७ स्थित केराबारी घर भएका प्रेम स्याङ्तानको घरमा गुजारा चलाउने गरी सामान्य पसल गरी बसेका खानीखोला–५ का ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी श्रीमती ५५ वर्षीया शान्तिमाया स्याङ्तान, छोरी ज्वाइँ २५ वर्षीया शिला स्याङ्तान र ज्वाइँ २५ वर्षीय जीवन पहरी छन् । साथै उनीहरूका दुई सन्तान साढे दुई वर्षीय छोरा देवर पहरी र एक वर्षीया छोरी देवयानी पहरी पुरिएका छन् । पुरिएकामध्ये शान्तिमाया स्याङ्तानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएको थियो । बाटोमै उनको निधन भएको प्रहरीले बताएको छ ।

काभ्रेपलाञ्चोक र मकवानपुर जोड्ने गरी पक्की पुल निर्माण गर्न शुरू भएको ८ वर्ष बितिसक्दासमेत सो स्थानमा पुल बन्न सकेको छैन । कुनै समय मकवानपुरको भोर्लेनी हुँदै सोही बाटो जाने आउने घुइँचो हुन्थ्यो । अहिले धेरै स्थानबाट सदरमुकाम धुलिखेल आउने सडक खुलेसँगै उक्त क्षेत्र ओझेलमा परेको थियो । दुई जिल्ला जोड्ने बीचमा वागमती खोला छ । त्यस माथि दैनिक ओहोरदोहोर गर्न बनेको झोलुङ्गे पुल छ ।

वागमती खोलामा खानीखोला मिसिन्छ । वागमती खोला र कोखाजोर खोलाको सिमानामा मकवानपुरबाट आउने सानो खोला छ । झोलुङ्गे पुलको मुखमा ५ वटा टहरा छन् । अन्य टहरामा कोही पनि बस्दैन । एउटा टहरामा अक्कलबहादुर स्याङ्तानका छोरी ज्वाइँसमेत बस्दै आएका थिए । नातिनातिनासहित छोरीज्वाइँ र आफूहरू बस्दै आएका स्याङ्तान परिवारले बास बस्न आउनेहरूलाई सुताउने गरेका थिए । सोमबार साँझ सिन्धुलीबाट पाल्साङ घिसिङ र उनका साथी आएका थिए । साथी झोलुङ पुलको वारि नै बसे । उनी बाँचे । पाल्साङ पारि गएर अक्कलबहादुरको घरमा बसे । परिवारसहित उनी बेपत्ता भए ।

मकवानपुरबाट बगेर आउने उक्त खोला खहरे हो । खहरे खोलामा लेदो मिसिएको थियो । स्थानीय कुबेर थिङका अनुसार अन्धाधुन्ध खनिएका सडकमा निरन्तरको वर्षाले गएको पहिरो आउँदा बगाएको लेदोसहितको खोलाले घरहरू बगाउन पुगेका हुन् । त्यही लेदोमा बेपत्ता भएकाहरूको उद्धारका लागि काभ्रे र मकवानपुरबाट सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको टोली जुटेको छ । साँझसम्म बाँकी ६ जना फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच अविरल वर्षाका कारण मकवानपुर–सिन्धुली आवतजावत गर्ने मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको छ । मकवानपुरको वागमती गाउँपालिका र सिन्धुली जाड्ने वागमती नदीले सडक बगाउँदा बाटो अवरुद्ध भएको हो । पहिरोले सडक बगाउ“दा उक्त लोकमार्ग अवरुद्ध भएको स्थानीयले जानकारी दिए । उनीहरूका अनुसार सडकको थोरै भाग बा“की रहेकाले दुईपांग्रे सवारीसाधन भने मुस्किलले ओहोरदोहोर गरिरहेका छन् ।

पहिरोका कारण अवरुद्ध रहेको हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने छोटो दूरीका दुईवटा मार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । सोमबार रातिको अविरल वर्षास“गै गएको पहिरोका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–फाखेल सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कान्तिलोकपथअन्तर्गत मकवानपुरको बकैया गाउ“पालिका–११, लामराङमा पहिरो खसेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाको दुई वटा डोजर प्रयोग गरेर सडक खुलाइएको हो । भीमफेदी–फाखेल सडकखण्डको भीमफेदी–२ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको थियो । उक्त सडक पनि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्