लायन्सको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न : अन्तर्राष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकोटी निर्वाचित



कास्की । 

लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टनमा सम्पन्न १०५औ अन्तर्राष्ट्रिय सम्मेलनबाट बुर्लाकोटी उक्त पदमा निर्वाचित हुनुभएको हो ।

जुलाई ७ देखि ११ तारिखसम्म ५ दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलन आज (मङ्गलवार) सम्पन्न भएको हो ।

विश्वका दुई सय १० बढी राष्ट्रमा लायन्स सक्रिय छ । बुर्लाकोटी लायन्सको विश्वभरका १८ जना अन्तर्राष्ट्रिय डाइरेक्टर मध्येको एक हुनुहुन्छ । इन्टरननेशनल डाइरेक्टरको रूपमा उहाँले २०२५ सम्म कार्य गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित बुर्लाकोटीले दक्षिण एसिया, मध्यपूर्व र अफ्रिका लगायत ६४ राष्ट्रको प्रतिनिधि गर्नुहुन्छ ।
यस अघि लायन्सको १०५औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जादाँ बुर्लाकोटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ एवं सम्मान गर्नु भएको थियो । बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय डाइरेक्टरको शपथ लिन अमेरिका प्रस्थान गर्नुपूर्व बधाई ज्ञापन गर्दै राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री दाहालले सम्मानका साथ बिदाइ गर्नु भएको हो ।

लायन्सको अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने उहाँ दोस्रो नेपाली हुनुहुन्छ । यस अधि सन् २०१५/१६ मा नेपालबाट अन्तर्राष्ट्रिय नेतृत्वमा संजय खेतानले नेतृत्व गर्नु भएको थियो ।

नेपालमा लायनबाद प्रवेशको ५२ वर्षपछि लायन्सको अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने बुर्लाकोटी दोस्रो व्यक्ति हुनु भएको लायन्स डिष्ट्रिक ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी दिनुभयो । उहाँ आउँदो साउन १ गते सोमवार नेपाल फर्कँदै हुनुहुन्छ ।

संसारकै सबभन्दा ठूलो सदस्य संख्या रहेको लायन्स अन्तर्राष्ट्रियको लायन वर्ष २०२३-२५ का लागि अन्तर्राष्ट्रिय डाइरेक्टरको पदमा निर्वाचित हुनु भएका बुर्लाकोटी लायन्स क्लब अफ काठमांडौं गंगवुका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएपछि नेपाल समाचारपत्रलाई प्रतिक्रिया दिँदै  बुर्लाकोटीले भन्नुभयो, ‘आफू  अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएकोमा गौरवान्वित बनाएको र सामाजिक कार्यमा अझै क्रियाशील बन्न हौसला मिलेको बताउनु भयो ।’ नेपालको लायनिजमको विकास र बिस्तारसँगै नेपालमा शिक्षा, स्वास्थ्य र बातावरणको क्षेत्रमा काम गर्न लायन्स अन्तर्राष्ट्रियबाट ग्रान्ट ल्याउन पहल गर्ने बुर्लाकोटीले प्रतिबद्धता जनाउनु भयो । लायन्स अन्तर्राष्ट्रियबाट नेपालको पर्यटन क्षेत्रको विकासका लागि समेत छुट्टै कार्यक्रम ल्याउने समेत उहाँले दाबी गर्नु भयो ।

नेपाल लायन्स क्लब स्थापनाभएको ५२ वर्षको इतिहासमा नेपालललाई विश्व समक्ष पहिचान गराउँदै अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित हुनु भएको र नेपालको नाम समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनु भएकोले सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बुर्लाकोटीको होम क्लब लायन्स क्लब अफ काठमांडौ गंगवुका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताउनु भयो ।

५ दिनसम्म चलेको सम्मेलनमा नेपालका डिष्ट्रिक्ट गभर्नरहरूसहित ठूलो संख्यामा नेपाली लायन्सहरूको सहभागी रहेको थियो । सम्मेलन शुरु हुनु अगाडी आयोजित र्रयालीमा नेपालीहरू पुरुषले राष्ट्रिय पोशाक दौरासुरुवाल कोट, टोपी र महिलाहरूले साडी ब्लाउजमा सजिएर नेपालको राष्ट्रिय झण्डा फहराउँदै सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्