पहिरोमा पुरिएर डोजर चालकको मृत्यु



मुगु ।

मुगु जिल्लास्थित गमगढी तारापानी सडक खण्डको फुलीगाउँ नजिक सडकमाथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ ।

लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा राती छायाँनाथ रारा नगरपालिका वडा नं ३ फुली गाउँ नजिक बामधारा भन्ने स्थानमा सडक माथिबाट पहिरो आई डोजर छोपिदा चालकको घटना स्थल मै मृत्यु भएको हो ।

मृतक चालक सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नं ७ अन्दाजी २४ वर्षका पवन घिमिरे भएको सशस्त्र प्रहरी बल नं ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक डम्बर रानाले जानकारी गराउनुभयो ।

पहिरो पन्छाएर सदरमुकाम गमगढी तर्फ आउँदै गरेको डोजर पहिरोमा परिएको खबर पाउना साथ सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल उद्धारका लागी घटना स्थलमा पुगेको थियो । रातभरि पहिरो पन्छाउन प्रहरी लागेपनि सम्भव नभएपछि बिहान अर्को डोजरको प्रयोग गरेपछि मात्र छोपिएको डोजर निकालिएको प्रहरीले जनाएको छ ।

डोजरधनी सोरु गाउँपालिका वडा नं ६ का रतन बहादुर शाही रहेको र क्षतिग्रस्त डोजरलाई पहिरोबाट पुर्णरुपमा निकाल्न नसकिएको पनि प्रहरीले बताएको छ । मृतक चालकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्