स्वास्थ्यमन्त्री बस्नेत र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीबृजको उद्घाटन

समयमै पुल बनेपछि स्थानीयवासी खुसी


सिन्धुपाल्चोक।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विशेष समारोहबिच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढी पहिरोले पुल बगाएपछि यहाँका स्थानीयवासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण भएकोमा खुसी व्यक्त गरे ।

मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले जनचाहना अनुसार समयमै बेलीबृज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताए ।

प्राकृतिक विपत्तिका बेला सधैँ  नेपाली सेनाले जनतालाई सहयोग गरेको स्मरण गर्दै स्थानीय बासिन्दाका अन्य समस्याभन्दा बेलीबृज सबै भन्दा पहिले बनाइहाल्नु पर्ने आवश्यकता भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताए । जनताका पक्षमा आफूले सधैँ काम गरेकै परिणामस्वरुप मतदाताले आफूलाई गत निर्वाचनमा १२ हजार भन्दा बढी मतान्तरले विजयी बनाएको स्मरण गर्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बाग्मती प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुसँग पनि सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको दाबी गरे । बेलीबृजले जिल्लावासीको आवतजावतका साथै आर्थिक र सामाजिक दृष्टिले पनि जनजीवन सहज बनाउने मन्त्री बस्नेतले बताए ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना सधैँ नेपाली जनताको सुख दुखमा साथ दिँदै आइरहेको बताउँदै मेलम्ची बेली ब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए । प्रधान सेनापति शर्माले नेपाली सेना नेपाली जनताको साझा सम्पत्ति भएको बताउँदै सेनाले सधैँ जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिए ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्य मन्त्री बस्नेतको अथक प्रयास र दृढ संकल्पका कारण मेलम्ची बेलीवृज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताए ।

उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यक्रर्ताहरु, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।