प्रहरी सङ्गठन रुपान्तरणको उपयुक्त अवसर : महानिरीक्षक कुँवर



काठमाडौँ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताउनुभएको छ । आज प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उहाँले प्रहरी सङ्गठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले सङ्गठनको रुपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको बताउनुभयो । सामान्य नीतिगत निर्णय गरेर के गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उहाँको भनाइ छ ।

वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामकरूपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उहाँले बताउनुभयो ।

साइबर अपराधको विषयमा पत्रकारको जिज्ञासामा महानिरीक्षक कुँवरले जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउने भन्ने सरकारको निर्णय रहेकाले त्यसमा चुनौती रहेको र त्यसका लागि आवश्यक मार्गदर्शन निर्माण गर्ने चरणमा रहेको जानकारी दिनुभयो । उहाँले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको बताउनुभयो ।

उहाँले प्रहरी समायोजनको विषय सरकारको योजनामै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बाढाउने बताउनुभयो । महानिरीक्षक कुँवरले सङ्गठनमा आफ्नो कुनै स्वार्थ नरहेको तर केही जिज्ञासा भएमा सिधा फोनबाट जानकारी लिन सकिने पनि बताउनुभयो । समाज सुधार तथा शुसासन कायम गर्नका लागि होस्टेमा हैँसे गर्न आफू तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्