स्वास्थ्यमन्त्री बस्नेतद्वारा भोटेकोशी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन



सिन्धुपाल्चोक। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको प्रशासकीय भवनको एक समारोहबिच बिहीबार उद्घाटन गरेका छन् । प्रशासकीय भवन उद्घाटनका लागि मन्त्री बस्नेत बिहीबार गृह जिल्ला सिन्धुपाल्चोक पुगेका हुन् ।

गाउँपालिका भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले चीनसँग नाका जोडिएको गाउँपालिका भएकाले यसको ठूलो व्यवहारिक महत्त्व भए पनि भूकम्पपछि तातोपानी नाका सञ्चालन हुन नसक्दा भोटेकोशी गाउँपालिकाका अधिकांश बासिन्दा समस्यामा परेको बताउँदै सरकारले कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउने प्रयास गरिरहेको जानकारी दिए ।

भोटेकोशीबासीको सुख दुखमा आफू सधैँ साथ रहेको मन्त्री बस्नेतले बताए । उनले भने, ‘म सुरु देखि नै यहाँको विकासका लागि लागेको हुँ । अहिले पनि यहाँँको शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणका लागि उत्तिकै लागेको छु ।’ भोेटेकोशी गाउँपालिकाले आफ्ना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेर कार्यान्वयन गरेकोमा गाउँपालिकाका पदाधिकारीलाई धन्यवाद दिँदै स्वास्थ्य मन्त्री बस्नेतले भोटेकोशीमा स्नातक र स्नातकोत्तर तहको पढाई हुने कलेज अहिलेसम्म खुल्न नसकेकोले निकट भविष्यकै कलेज खुल्ने आशा व्यक्त गरे ।

कलेज स्थापनाका लागि सरकार र व्यक्तिगत रुपमा आफूले सक्दो पहल गर्ने पनि मन्त्री बस्नेतले बताए । आफू स्वास्थ्य मन्त्री भएपछि विपन्नको निःशुल्क उपचार गर्ने अभियानमा लागेको बताउँदै ३ महिना भित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्ने दाबी बस्नेतले गरे ।

कार्यक्रममा भोटकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले प्रशासकीय भवन सञ्चालनमा आएपछि जनतालाई छरितो र सहज सेवा दिन सहज हुने बताए । कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष दिक्षिन शेर्पा, जिल्ला समुन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने लगायत जनप्रतिनिधि, नागरिक समाजका अगुवा, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्