सुदूरपश्चिमको बजेट पास नगर्ने प्रधानमन्त्रीलाई चेतावनी



धनगढी  । 
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुन नदिने चेतावनी दिइएको छ। बजेटमा असन्तुष्ट रहेका सत्तारुढ तीन दलका संसदीय दलका नेतासहितका १० जना प्रदेशसभा सदस्यले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिनुभएको हो।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिबाट गण्डकी प्रदेशको भ्रमणमा गएका सभामुख भीमबहादुर भण्डारी समेतका प्रमुख विपक्षी एमालेका प्रदेशसभा सदस्यसहितले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनुभएको हो।

‘हामीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट यथास्थितीमा हुुबहु पारित गर्न सकिदैन्। संशोधन गरिनुपर्छ भनेर कुरा राखेका छौँ,’ भेटमा सहभागी एकजना प्रदेशसभा सदस्यले भन्नुभयो, ‘प्रधानमनत्रीले माग सम्बोधन गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

उहाँका अनुसार भेटमा सहभागी भएका सभामुख भीमबहादुर भण्डारीले समेत बजेट सन्तुलित नआएको, मुख्यमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्र केन्द्रीत भएको कुरा राख्नुभएको थियो। माओवादी संसदीय दलका नेता खगराज भट्ट, नागरिक उनमुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले एक स्वरमा बजेट संशोधनको माग गर्नुभएको थियो। उहाँहरुको भनाईमा कांग्रेसका प्रदेशसभा सदस्यहरुले समेत समर्थन गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटमा एमालेका प्रदेशसभा सदस्य चक्रबहादुर मल्ल समेत सहभागी हुनुहुन्थ्यो। यस्तै नेपाली कांग्रेसका मेघराज खड्का, मानबहादुर रावल, बहादुरसिंह थापा, ललिता सुुनार, माओवादी केद्रका शिवसिंह ओली पनि सहभागी हुनुहुन्थ्यो।

यसअघि कांग्रेसका प्रदेशसभा सदस्यले पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै यथास्थितीमा बजेट पारित गर्न नसकिने बताउनुभएको थियो। देउवाले पूरक बजेट ल्याएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। प्रदेश सरकारले १ असारमा अगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याएको छ। तर सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्