एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित कर्णाली आएको छु : लेखराज भट्ट



सुर्खेत  ।

एमाले सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित आफू कर्णाली आएको बताएका छन् । जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रीत सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

इञ्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उनले भने, ‘संगठनका सदस्यहरुले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’ पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाई थियो ।

बैठकमा जनवर्गीय संगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भत्र्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गरे । कुण्ठा पोख्ने, अराजकता प्रर्दशन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भने, ‘जनवर्गीय संगठनहरुले कार्यशालामार्फत आफ्नो संगठनका मुद्दाहरुको पहिचान गरी जनतासंग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ ।
पार्टी केन्द्रीय सदस्य एवं स्कूल विभागको प्रदेश समन्वय इञ्चार्ज विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौति रहेको औंल्याए ।

पार्टीले मिसन ग्रासरुटपछि जनसंगठन, पार्टी स्कूल र प्रचारको कामलाई व्यवस्थित गर्न विशेष कार्ययोजनाका साथ काम अघि बढाउने निर्देशन दिएको बताए साथै उनले पार्टी स्कूल विभागले कर्णाली प्रदेशमा ४० जना प्रशिक्षक उत्पादन गरी पार्टी कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिने योजना रहेको सुनाए ।

अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टी प्रचार संगठनलाई पालिका तहसम्म पु¥याउनुपर्ने बताए । प्रदेश प्रचार विभागको इञ्चार्जसमेत रहेका उनले यही असार २८ गते प्रदेश प्रचारको कार्ययोजना बनाउन बैठक बस्ने र उक्त बैठकले पालिका तहसम्म पुगेर प्रचार विभाग गठन गरी प्रचारको काम गर्ने जानकारी दिए ।

बैठकमा कर्णाली प्रदेशमा क्रियाशिल २० वटा जनवर्गीय संगठनका इञ्चार्ज÷अध्यक्षहरु तथा संगठनका जिल्ला संयन्त्र संयोजकहरुले रिर्पोटिङ गरेका थिए । जनवर्गीय संयन्त्रको बैठकको अध्यक्षता एमाले प्रदेश कमिटी उपसचिव एवं संयन्त्रका संयोजक टेकराज पछाई, सञ्चालन अनेरास्ववियूका इञ्चार्ज रुद्र शाही र संयन्त्रका प्रदेश इञ्चार्ज गुलाबजंग शाहले बैठकका उद्देश्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्