नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानको सहयोग प्रशंसनीय



काठमाडौँ।

नेपालस्थित पाकिस्तानी दूतावासले आइतबार पाकिस्तानी सेनाको विभिन्न तालिम केन्द्रहरूबाट तालिम लिएका नेपाली सेनाहरूको अल्मुनाई भेलाको आयोजना गर्‍यो  ।

नेपाली सेनाका बहालवाला एवं सेवा निवृत्त सैनिकहरूको उपस्थित रहेको उक्त भेलामा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानको सहयोगको प्रशंसा गर्दै पाकिस्तानी सेनाप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले कार्यक्रममा नेपालको विदेश नीति पञ्चशीलमा आधारित रहेको जिकिर गर्दै नेपालले सबैसँग मित्रता कायम राख्ने र कसैसँग पनि वैरभाव नराख्ने सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले पाकिस्तान र नेपालबीच जनस्तरका साथै सरकार र सेनाको स्तरमा पनि राम्रो सम्बन्ध रहेको जिकिर गर्दै दुई देशबीचको सम्बन्ध आपसी विश्वास र हितमा आधारित रहेको बताउनुभयो । उहाँले अल्मुनाई भेलामा नेपालले पाकिस्तानप्रति दर्शाएको सद्भावप्रति आभार पनि व्यक्त गर्नुभयो ।

दूताबासका रक्षा सहचारी कर्णेल मुहम्मद अलि अल्भीले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि  पाकिस्तानी सेना सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो ।

पाकिस्तानका विभिन्न सैन्य तालिम केन्द्रहरुबाट हालसम्म झन्डै ६० जना नेपाली सेनाले तालिम प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्