सुन तस्करी प्रकरण : बुटवलका २ वटा सुन पसलमा सिल,  थप अनुसार सुरु



बुटवल। 

सुन तस्करीमा संग्लन रहेको आशङ्कामा बुटवलको २ वटा सुन पसलमा प्रशासनले सिल गरी थप अनुसन्धान अगाडी बढाएको रहस्य बाहिरिएको छ ।
१० असारमा रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको करिब २ केजी सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको समेत संलग्नता देखिएपछि प्रशासनले सिल गरेको हो  ।

१० असारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह नाका हुँदै नेपालबाट भारत तर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले सुन बरामद गरेको थियो । सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

अहिले बालाजी र लक्ष्मीपती सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताउनुभयो ।सुनसहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्