समाचार प्रभाव : ९ दिनपछि प्रहरीले दर्ता गर्‍यो  जाहेरी 

‘पक्राउ नगरी शव बुझ्दैनौ’- आफन्त



वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सिको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेकै पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुन्डिएको अवस्थामा ठडेन्द्रको शव फेला पर्‍यो ।

काभ्रे। 

वडा अध्यक्ष र सदस्यको धम्की पछि आत्महत्या गरेका भुम्लु १ सापिङ्ग उर्लेनीका ठडेन्द्रप्रसाद पन्तका छोरा र भतिजाले दिएको आत्महत्या दुरुत्साहन गर्न बाध्य बनाएको अभियोगको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो दर्ता गरेको छ । असार ९ गते साँझ घरबाट निस्किएका पन्तको शव असार १० गते बिहान झुन्डिएको अवस्थामा फेला परेको थियो ।

‘वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लप्सीको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेर धम्की दिनु भएको थियो’–मृतकका छोरा शेरबहादुर पन्तले भन्नुभयो–‘हुर्किँदै गरेको मकै उखेल्दै फालेर जर्बजस्ति शौचालय निर्माणको प्रक्रिया सुरु भएपछि वडा अध्यक्ष, सदस्य र टोल सुधार समितिका अध्यक्षले दिएको धम्की सहन नसकेर बुबाले आत्महत्या गर्नु भए जस्तो लाग्छ । हत्या पछि आत्महत्या जस्तो देखाइएको हो कि ? शङ्का छ । धम्कीको पर्सिपल्ट जग्गाकै छेउमा रहेको लप्सीको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपछि न्यायका लागि जाहेरी लिएर प्रहरी कार्यालय धाई रहेका हौँ ।’ जाहेरी दर्ता भए पनि उनीहरूविरुद्धको कारबाही प्रक्रिया अघि बढाएर पक्राउ नगर्दासम्म शव नबुझ्ने निर्णय गरेको भतिज रोमबहादुर पन्तले बताउनुभयो ।

धुलिखेल अस्पतालको मुर्दा घरमा राखिएको शव पोस्टमार्टम गर्न र शव ल्याएको गाडीको भाडा दिन समेत रकम नभए पछि चन्दा संकलन सुरु गरिएको छ । पीडितहरुको आम्दानीको कुनै श्रोत नभएको र पोस्टमार्टम गर्न समेत रकम नभएपछि आफन्त र गाउँलेहरुसँग हारगुहार गरेका छन् ।

२०७५ सालमा भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो । ३ लाख रुपैयाँमा खरिद भएको जग्गाको बाँकी २ लाख ७० हजार रुपैयाँ भुक्तानी नगरी पटक पटक भवन निर्माण कार्य गरेको अवस्थामा जग्गा पास गरिदिन्छु बाँकी रकम दिनु भन्दा बेवास्ता गर्दै उल्टै धम्की दिन थाले पछि ठडेन्द्र विक्षिप्त भएका थिए ।

‘मेरो घरमा यो जग्गाकै कारण ज्यान पर्ने भयो तपाईहरुलाई चाहिने भए बाँकी पैसा दिएर पास गर्नुस् नभए जग्गा खाली गरिदिनुस् भनेर पटक पटक वडा अध्यक्ष, महिला समूह अध्यक्ष र टोल सुधार समितिका अध्यक्षलाई बुबाले भन्नु भएको थियो’–बुहारी नानिमैया पन्तले भन्नुभयो–‘उनीहरूको बारम्बारको धम्कीपछि वडाको सिफारिस समेत रोकिदिन्छु, बिजुलीको तार काटिदिन्छु, सामाजिक बहिस्कार गरिदिन्छु भन्दै धम्की दिएर जग्गासँगै रहेको लप्सीको बोटमा बाँधेर भए पनि निर्माण कार्य गर्ने चेतावनीका साथ धम्की दिए पछि बुबा सकेको गर भन्दै घर फर्कनु भएको थियो ।’ असार ९ गते साँझ घरबाट निस्किएका बुबाको हत्या वा आत्महत्या के हो ? निष्पक्ष छानबिन गरी न्याय दिन माग गरेको ९ दिनसम्म वार्ता र मेलमिलापका नाममा झुलाउने काम प्रहरीबाट भएको नाति नवीन पन्तले बताउनुभयो । ‘प्रहरीले जनप्रतिनिधिको दबाबमा हत्या वा आत्महत्या जस्तो जघन्य अपराधमा मिलापत्र गराउन खोज्ने कि ? जाहेरी लिएर अनुसन्धान सुरु गर्ने ?’– नाति नवीन पन्तले भन्नुभयो–‘प्रहरीको भूमिकामाथि प्रश्न र शङ्का गर्ने धेरै ठाउँ छ । ९ दिनसम्म शव रोकेर जाहेरी दर्ता नगर्नुले के बुझाउँछ ?’ ठडेन्द्रले जग्गा पास गरेर लिउ भन्दा पनि नलिएर उल्टै मानसिक दबाब दिएको उहाँले बताउनुभयो ।

भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको हत्या वा आत्महत्या हुन सक्ने भन्दै ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय भतिज रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दिनु भएको थियो ।

भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ बर्षिया दानकुमारी महत खत्री र ४६ बर्षिया ताराबहादुर पन्तविरुद्धको जाहेरी दर्ता भएको छ । जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन पटक पटक वार्ता गराइएको थियो । २०८० असार १० गते बिहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्