मधेस प्रदेशको गृह मन्त्रालयमा तालाबन्दी



धनुषा ।

जनयुद्धका सहिद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ । सहिद प्रतिष्ठानले दिने घोषणा गरेको तीन लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरेको हो ।

आज विभिन्न जिल्लाबाट आएका जनयुद्धका सहिद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि मुख्यमन्त्री उपलब्ध हुन सक्नुभएन । मधेश सरकारले गत वर्ष नै जनयुद्धमा सहिद भएका परिवारलाई किस्ताबन्दीमा तीन लाख उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक सहिद परिवारका सदस्यले पैसा पाएका छैनन् ।

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । सहिद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनुपर्ने माग गरे । सहिद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सो काम सरकारको भएको सहिद परिवारका सदस्य राजु महतोले बताए । असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता सहिद परिवारलाई छ ।

प्रतिक्रिया दिनुहोस्