नेपालद्वारा यूएई पराजित



काठमाडौँ।

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।

विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्लेअफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो ।

जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो ।

एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उकासेका हुन् । यी दुईले आठौँ विकेटका लागि अविजित ७९ रनको साझेदारी गरेका थिए । ऐरीले ७९ तथा लामिछानेले २३ रन बनाए ।

नेपालको सुरुआती ब्याटिङ आज निराशाजनक रह्यो । कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अङ्क बटुल्न सकेनन् ।

दश टोली सम्मिलित आईसीसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ स्थान बनाउन आज युएईसँग प्रतिस्पर्धा गरेको हो । अब नेपालले मङ्गलबार सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

आज भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले युएईलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।

युएईका नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त भएपछि वृत्य अरविन्दले कप्तानी गरेका थिए । युएईका सुरुआती ब्याटर आसिफ खान शून्यमा आउट भएपछि अर्का सुरुआती ब्याटर अर्यान्स शर्माले कप्तान अरविन्दसँग मिलेर ६८ रनको साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट २८ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए भने युएईका लागि सबैभन्दा बढी ४४ रन बनाएका अरविन्द पनि गुल्शन झाबाट बोल्ड भए ।

युएईका रमिज शहजाद १० रनमा आउट भए । त्यसपछि रोहन मुस्तफा र बसिल हमिदले फेरि पाँचौँ विकेटका लागि ५८ रनको साझेदारी गरे । मुस्तफा ३५ तथा हमिद २९ रनमा आउट भए । समग्रमा युएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भयो ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३÷३ विकेट लिए । त्यस्तै प्रतिश जिसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिए ।

आजको खेलमा अविजित ७९ रन बनाउँदै र बलिङमा एक विकेट लिन सफल दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्