जनताको जीवनमा आमूल परिवर्तन गर्ने जिम्मेवारी कम्युनिस्ट पार्टीबाट नै पूरा  हुन्छ : पूर्वप्रधानमन्त्री नेपाल



भक्तपुर। 

पुर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
नेता नेपालले यी सबै कामको जिम्मेवारी कम्युनिस्ट पार्टीबाट नै पूरा हुने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको नेपालले बताउनुभयो ।

जनताको जीवनमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,जनताको जीवनलाई सुखी र समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसाबले शिर ठाडो पारेर हिँड्नसक्ने हिसाबले समर्थ तुल्याउने कामको जिम्मेवारी कम्युनिस्ट पार्टीले नै गर्नुपर्ने बताउनुभयो ।

नेपालले सबैले इमानदारिताका साथ अघि बढेको खण्डमा अग्रज योद्धाहरूले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताउनुभयो  ।
कम्युनिस्ट पार्टीका नेताको रूपमा अहिले हामीले प्रधानमन्त्री पाएको र पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ भन्दै उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो ? यसबारेमा अझै गम्भीर चिन्तन मनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्न सक्छ प्रयास गर्दै रहनुभएको बताउनुभयो ।

गरिबी, अभाव, बेरोजगारी र जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सबैका ज्ञान, अनुभव,  बुद्धिलाई लिएर इमान्दारिताकासाथ अघि बढ्नुपर्ने बताउनुभयो ।
सबै मिलेर अघि बढे अग्रज योद्धाहरूले  गर्नुभएको नयाँ नेपाल निर्माणको परिकल्पना र सपनालाई साकार पार्न सकिने नेता नेपालले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता अमृतकुमार बोहोरा,मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीला सुवेदी लगायतले जोशीको योगदानबारे चर्चा गर्नुभयो ।

सो अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री  तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आउने जानकारी गराइए पनि उहाँहरु सहभागी हुनुभएन ।

प्रतिष्ठानका संरक्षक समेत रहनुभएका उहाँहरु सहभागी नहुनु भएको प्रति लक्षित गर्दै प्रम प्रचण्डले उहाँहरु केही कारणले सहभागी हुन नसक्नु भए पनि सहभागी भएको भए राम्रै हुन्थ्यो भन्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक जोशीको स्मृतिमा निर्मित स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री  प्रचण्ड र पूर्वप्रम नेपालले भवनको उद्घाटन एवम् प्रतिमा अनावरण गर्नुभएको हो ।

जोशीको सम्झनामा मध्यपुर ठिमि  ४ शंखधर चोकमा प्रतिष्ठानको भवन र प्रतिमा निर्माण गरिएको नारायण विलास जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

संघीय,प्रदेश र स्थानीय सरकार र विभिन्न दाताहरुको रु दुई करोड ४४ लाख २९ हजारको लागत सहयोगमा बनेको साँढे दुई तला भवनमा ७ कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्