देश,समाज र जनताको हितका निम्ति पुनः नेपाल कम्युनिस्ट पार्टीको एकतातिर फर्कनुपर्छ : प्रम प्रचण्ड 



भक्तपुर।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश,समाज र जनताको हितका निम्ति पुनः नेपाल कम्युनिस्ट पार्टीको एकतातिर फर्कनुपर्ने बताउनुभएको छ ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आज भक्तपुरको नयाँ ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताउनुभयो । त्यो एकतालाई बचाउन नसक्नुमा कसैलाई दोषारोपण गर्न नचाहेको प्रम प्रचण्डले बुताउनुभयो ।

उहाँले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर र संस्थापकहरुलाई स्मरण गरेर फेरि अगाडि बढ्ने जमर्को गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको बताउनुभयो  ।

 विश्वभरिकै समाजवादको आन्दोलनको इतिहास एकता ,संघर्ष, विभाजन र रूपान्तरण भएर गुज्रँदै अघि बढेको उल्लेख गर्दै हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ?’ फेरि एकचोटी विचार र चिन्तन गर्नुपरेको बताउनुभयो ।

नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अगाडि बढेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले  समाजमा रुपान्तरणका निम्ति समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ,अहिले माधव कुमार नेपाल, म लगायत,. विप्लव र उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं।’

सो क्रममा उहाँले संस्थापक नेता जोशीलाई समाज सुधारक व्यक्तित्वको रुपमा स्मरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्