महानिरीक्षक कुँवरद्वारा पिटुसीटुको निरीक्षण



रत्ननगर।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी–नागरिक अभियान नेपाल (पिटुसीटु)को निरीक्षण गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आइपुग्नुभएका महानिरीक्षक कुँवरले आज भरतपुर–४ मा रहेको प्रहरी–नागरिक अभियान नेपाल (पिटुसीटु)को निरीक्षण गर्नुभएको हो ।

विसं २०७२ मा कुँवर चितवनको प्रहरी प्रमुख हुँदा पिटुसीटुको स्थापना भएको थियो । सडक बालबालिकाको उद्धार गर्ने उद्देश्यसहित पिटुसीटुको स्थापना गरिएको थियो । संस्थाका अध्यक्ष बेलबहादुर गुरुङका अनुसार पिटुसीटु स्थापना भएसँगै ५० जना बालबालिकाको पुनःस्थापना गरिएको छ । हाल संस्थामा ३० जना सडक बालक आश्रित छन् । संस्थाले बालबालिकाको खानपान, स्वास्थ्य, शिक्षा संस्थाले उपलब्ध गराउँदै आएको छ । भरतपुरलाई सडक मानवमुक्त पालिका बनाउन पिटुसीटुको सहयोग पुर्याएको छ ।

निरीक्षणका क्रममा महानिरीक्षक कुँवरले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रहरी–नागरिक सहकार्य अपरिहार्य रहेको बताउनुभयो । प्रहरी र नागरिकबीचको सहकार्यले समाजमा शान्ति सुरक्षा सम्भव हुने धारणा राख्नुभयो । शान्ति सुरक्षा कायम गर्न नागरिकको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

यसैबीच प्रहरी–नागरिक अभियान नेपाल (पिटुसीटु)ले महानिरीक्षक कुँवरलाई सम्मान गरेको छ । गत चैत १० गतेको नेपाल सरकारको निर्णयानुसार कुँवरलाई नेपाल प्रहरी प्रमुखको रुपमा बढुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्