चीन भ्रमण सकेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता



काठमाडौं ।

चीनको औपचारिक भ्रमण पूरा गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् । चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा तिमिल्सिना ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए । उनी आज दश दिने भ्रमण पूरा गरी चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत पोखरा विमानस्थलमा ओर्लिएका हुन् ।

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रुपमा आइपुगेका अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरेका छन् । अध्यक्ष तिमिल्सिनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए ।

यस्तै, तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका थिए । सबै भेटमा नाकामा सहजीकरण, सिधा उडान, भौतिक पूर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका विभिन्न पक्षमा छलफल भएको बताइएको छ ।

अध्यक्ष तिमिल्सिनाले तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवर लगायतका स्थलहरूको अवलोकन भ्रमणसमेत गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्