साढे २ अर्बको लगानीमा पाँच तारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा



बुटवल  । 

मुलुकभर होटल सञ्जाल विस्तार गरिरहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो लगानीको पहिलो पाँचतारे होटल रुपन्देहीको भैरहवामा बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ समूहले बिहीबार होटलमा पत्रकार सम्मेलन आयोजना गरेर पाँचतारे होटल सञ्चालनमा ल्याएको जनाएको हो । सिद्धार्थ भिलासा लुम्बिनी प्रदेशको तेस्रो पाँच तारे होटल हो । सुदूरपश्चिमको कैलाली जिल्लास्थित टिकापुरमा खाजा पसलबाट होटल सेवाको सुरुवात गरेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले स्थापनको २५ औं वर्षमा पाँचतारे होटल सञ्चालनमा ल्याएको हो ।

यस समूहले यसअघि पश्चिमदेखि पूर्वी नेपालसम्म नीजि लगानी र व्यवस्थापन गरेर ३२ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । तिनमा कटेज, रेष्टुरेन्ट , तीनतारे र चारतारे स्तरका रहेका छन् ।  यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो ।

भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको यो होटलमा सिद्धार्थले साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ । होटलमा डिलक्स, एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् । ग्रुपका सचिव महेन्द्र न्यौपानेका अनुसार होटलमा क्यासिनोको समेत सुविधा छ । यहाँ नेपालकै ठूलो सभा हल, ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफटप रेष्टुरेन्ट, स्विमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्टसहितका पूर्वाधार रहेको छ ।

क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले बताउनु भयो । हाल पाँचतारे होटल सफ्ट लञ्च भएको  र आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले जानकारी दिनु भयो ।

बुद्ध जन्मस्थल लुम्बिनी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँचतारे होटलमा लगानी गरिएको पत्रकार सम्मेलनमा बताईछ । होटलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको छ ।

रेष्टुरेन्ट तर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने योजना रहेको छ । ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी, शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको छ । सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ ।

भैरहवामा होटल ब्यवसायको सम्भावना देखेर नै सिद्धार्थ ग्रुपले यहाँ लगानी गरेको ग्रुपका प्रमुख प्रशासकीय अधिकारी कृष्ण न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्