जसपामा उमेरहद लागू : ७० वर्षभन्दा माथिका पदाधिकारीहरू केन्द्र, प्रदेश र जिल्ला समितिमा रहन नपाउने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएको छ ।

काठमाडौंमा आज (आइतबार)बाट शुरू हुने विधान अधिवेशनका लागि प्रस्तावित मस्यौदा विधानमा सो उमेरहद लागू गरिएको हो ।

केन्द्रीय समितिवाट हिजो अनुमोदित भएको सो विधान आजबाट शुरू हुने विधान अधिवेशनमा पेश गरिँदैछ ।

जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन् । यो प्रस्ताव पारित भएमा सो उमेरहदको सो व्यवस्था तुरुन्तै लागू हुनेछ ।

त्यसैगरी, एउटा व्यक्तिले दुई कार्यकालभन्दा बढी समयसम्म एउटै जिम्मेवारी लिन नपाउने व्यवस्था पनि गरिएको छ ।

जसअनुसार जिल्ला समिति, प्रदेश र राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्तावित विधानमा उल्लेख गरिएको छ ।

जसपा नेपालले सानो तथा छरितो केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ ।

जसअनुसार अबदेखि राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधान अनुसार नयाँ केन्द्रीय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ । हाल जसपाको ४ सय ४० केन्द्रीय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्