‘शिक्षण संस्था राजनीतिको थलो बन्नु हुँदैन’



चितवन।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छन् ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षण संस्थामा शिक्षक र विद्यार्थीको राजनीतिक आस्था फरक–फरक भए पनि राजनीतिक स्वार्थ पूरा गर्न संस्थालाई राजनीतिको थलो बनाउन नहुने बताएक हुन् ।

प्रमुख शेरचनले भने, “आजको युग प्रतिस्पर्धाको युग भएकाले विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा सबै शिक्षण संस्थाको ध्यान जानुपर्छ । विकसित देशले चन्द्रमाबाट माटो ल्याइसके । खेती गर्ने योजना बनाइसके तर हामी भने चन्द्रमाको पूजा गरेर बसिराखेका छौँ । अब उपनिवेशवादी शिक्षा नीतिलाई बदलेर प्रविधिको युगमा प्रवेश गर्नुपर्छ ।”

प्रमुख शेरचनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अहिले सबैले युवा युवा भन्ने गरेको तर पुराना र नयाँबीचको अनुभवको आदानप्रदानबाट मात्र देश सही ढङ्गले अगाडि बढ्न सक्ने विचार राखे ।

उनले भने, “होस नभई जोसले मात्र युवा अगाडि बढे भने देश कता पुग्छ ठेगान हुन्न । म आफू ८१ वर्ष भए पनि युवा जोसले नै काम गरिरहेको छु ।”

उनले देशमा भ्रष्टाचार बढ्दै गइरहेको विषयमा चिन्ता व्यक्त गरे । उनले भने, “म स्वास्थ्यमन्त्री भएर काम गर्दा पनि कमिसनको पोको आउने गर्दथ्यो । मैले त्यो पैसा उपचार कोषमा जम्मा गर्दथेँ । पाँच प्रतिशत कमिसन तपाईंकै हो भन्दै पैसा बोकेर आउने गर्दथे । अहिलेका स्वास्थ्यमन्त्री के गरिरहेका छन् मलाई थाहा छैन ।”

प्रतिक्रिया दिनुहोस्