स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक

नेपालीहरुको स्वास्थ्यमा सुधार



काठमाडौँ। 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण(एनडीएचएस) २०२२ को नतिजा सार्वजनिक भएको छ । सार्वजानिक नतिजा अनुसार नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ ।

नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिएता पनि स्वास्थ्यका  केही क्षेत्रहरू अझ  पनि स्थिर रहेको छ र महत्त्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्रयासहरू बढाउन आवश्यक देखिन्छ।

सन् २०२२ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, नेपालमा सन् १९९६ पछि गरिएको छैठौं जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो, नेपाल सरकार तथा नेपाल सरकारका  साझेदारहरूसँग अब देशभरका नेपालीहरूको स्वास्थ्य स्थिति र सेवाको उपयोगलाई गहिरो रूपमा बुझ्न २६ वर्ष सम्मको तुलनात्मक राष्ट्रिय सर्वेक्षणको तथ्यांक उपलब्ध गराएको जनाएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखाएको छ ।

रिपोर्टमा उल्लेख गरिए अनुसार नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेका छन् । चौरानब्बे  प्रतिशत (९४%) गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मी, जस्तै डाक्टर, नर्स वा अ. न. मी. बाट गर्भवती सेवा (बच्चा पाउनु अघिका जाँचहरु ) प्राप्त गरेका छन् । सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षण अनुसार २५% महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरुबाट गर्भवती सेवा प्राप्त गरेका थिए, जुन आजको रिपोर्ट अनुसार उल्लेखनीय वृद्धि हो ।

सन् २०२२ को एनडीएचमएस अनुसार ७३% गर्भवती महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिना भित्रमा पहिलो गर्भवती जाँच गराएको उल्लेख गरिएको छ । ( जुन आमा र बच्चा दुवैको लागि जोखिमहरू कम गर्न महत्त्वपूर्ण समय हो ) साथै ८१% गर्भवती महिलाहरूले सिफारिस गरे अनुसार कम्तीमा चार पटक गर्भवती सेवा प्राप्त गरेका छन् ।

सन् १९९६ को सर्वेमा  ८%  जीवित जन्महरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने, सन् २०२२ अनुसार ७९%  जीवित जन्महरू स्वास्थ्य संस्थामा हुने उल्लेखनीय वृद्धि हो । साथै बच्चा जन्मे पछि, १० मध्ये ७ महिला र नवजात शिशुहरूलाई जन्मेको दुई दिन भित्र स्वास्थ्य जाँच गराइएको पाइन्छ ।

सर्वे रिपोर्टमा उल्लेख गरिए अनुसार नेपालमा आधा भन्दा बढी (५७%) विवाहित महिलाहरुले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन्, जसमध्ये ४३% ले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् र १५% ले परम्परागत विधिहरू प्रयोग गर्छन् । महिला बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता आधुनिक परिवार नियोजनका  साधन वा विधिहरू नेपालमा सबै भन्दा बढी प्रयोग भएको पाइएको छ ।

सन् २०२२ मा नेपालले कूल प्रजनन् दरलाई २ दशमल्भ १ प्रतिशतमा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको देखाउँछ । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको देखिन्छ, सन् १९९६ मा प्रति महिलाले ५ बच्चाहरु जन्माउँथे भने सन् २०२२ मा प्रति महिलाले २ दशमल्भ १ बच्चाहरु मात्र जन्माउँछन् ।

पाँच वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको देखिन्छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति १ हजार जीवित जन्ममा १ सय १८ जनाको मृत्यु हुने गर्दथ्यो भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हाल प्रति १ हजार जीवित जन्ममा ३३ को मृत्यु हुने गर्दछ ।
त्यस्तै दीर्घकालीन कुपोषणको एउटा संकेत पुड्कोपन वा उमेर अनुसार उचाइ कम हुनु हो । यो सर्वेक्षण अनुसार सन् १९९६ मा ५७% रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५% मा झरेको छ ।

यो सर्वेक्षण अनुसार स्वास्थ्यको धेरै क्षेत्रमा प्रगति भएको देखाएता पनि चुनौतीहरु अझै बाँकी नै छन् । नेपालमा ६ महिना भन्दा कम उमेरका शिशुहरूलाई पूर्ण रुपमा स्तनपान गराउने प्रवृत्तिमा समयसँगै उतारचढाव भएको देखिन्छ र यो सन् १९९६ मा ७५% थियो भने संन् २०२२ मा ५६% मा झरेको छ । विश्व पोषण निर्देशिकाले शिशुहरूलाई बाल मृत्यु तथा अन्य रोगहरुबाट बचाउनको लागि जन्मेको पहिलो ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउन सिफारिस गर्दछ । साथै, नवजात शिशु मृत्यु दर पछिल्लो दशकमा प्रति १ हजार जीवित जन्महरूमा २१ मृत्युमा स्थिर रहेको देखिन्छ । किशोरीवस्थाको प्रजनन दर उच्च रहेको देखिन्छ, जसमा १५–१९ उमेर समूहका १४% किशोरीहरु गर्भवती हुने गरेको देखिएको छ ।

कोभिड खोपमा सफलता मिलेता पनि, बालबालिकाको नियमित खोप कभरेज आश्चर्यजनक ढंगले अघिल्लो सर्वेक्षणहरुमा भन्दा घटेको पाइएको छ । हाल, ८०% बालबालिकाहरूले सबै आधारभूत एन्टिजेन्सहरू विरुद्ध खोप लगाएका छन्, जुन २०११ मा ८७% थियो । २०२२ को सर्वेले कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा पनि थोरै वृद्धि भएको देखाएको छ, जुन २०१६ को सर्वेमा १% थियो भने अहिले २०२२ को सर्वेमा ४% रहेको छ । नेपालमा १५ वर्ष वा सो भन्दा माथिका १८% महिला र २३% पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ । यो सर्वेक्षण अनुसार प्रति १ लाख व्यक्तिहरु मध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्दछ, जसमध्ये सबैभन्दा बढी मृत्यु वा घाइते भएका ६८% सडक दुर्घटना, मोटरसाइकलको कारणले हुने गर्दछ ।

यस सर्वेक्षणमा १५–४९ वर्षका २२% महिला र ११% पुरुषहरूले  चिन्ताका लक्षणहरू अनुभव गरेको पाइयो । समग्रमा, १५–४९ वर्षका महिलाहरू मध्ये २३% ले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेका छन् भने ८% ले १५ वर्षको उमेरदेखि यौन हिंसाको अनुभव गरेका छन् । समग्रमा, नेपालमा ७२% विवाहित महिलाहरुले आफ्नो स्वास्थ्यको हेरचाह सम्बन्धी निर्णय आफै वा संयुक्त रुपमा गर्ने गर्दछन्   भने ६०% ले घरायसी मुख्य सरसामानहरु खरिद गर्न  र ६८% ले आफ्नो परिवार वा आफन्तलाई भेट्न आफै वा संयुक्त रुपमा निर्णय गर्दछन्Þ् ।

राष्ट्रिय र प्रादेशिक स्तर, शहरी र ग्रामीण क्षेत्रहरू, तीन भौगोलिक क्षेत्रहरु, हिमाल, पहाड र तराईका आधारमा जनसांख्यिक तथा स्वास्थ्य सूचकहरूको अद्यावधिक तथ्याङ्क यो सर्वेक्षणले प्रदान गर्दछ । यस सर्वेक्षणमा राष्ट्रको पुरै प्रतिनिधित्व हुने गरी १३ हजार ७ सय ८६ घरधुरीमा १५–४९ वर्षका १४ हजार ८ सय ४५ जना महिला र छनौटमा परेका आधा घरधुरीबाट १५–४९ वर्षका ४ हजार ९ सय १३ जना पुरुषहरुलाई अन्तरवार्तामा समावेश गरिएको थियो, जसले महिलाहरूको लागि ९७% र पुरुषहरूको लागि ९५% उत्तर दर प्रतिनिधित्व गर्दछ ।

यो सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले सम्पन्न गरेको हो । यस सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यू.एस.आई.डी.) बाट आर्थिक सहयोग प्राप्त भएको थियो । यस सर्वेक्षणको लागि अमेरिकी सहयोग नियोगद्वारा आर्थिक र आई.सी.एफ.बाट प्राविधिक सहयोग उपलब्ध भएको हो।

प्रतिक्रिया दिनुहोस्