पहिरोले पुरिएको एक शव भेटियो, ३ जना बेपत्ता

-५१ घर उच्च जोखिममा -बच्चा काखमा च्यापेर तीन दिनदेखि ओढारमा -यातायात ठप्प, खोजी कार्य र उद्धारका लागि सास्ती



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भइरहेका ४ मध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको छ । तीन जनाको भने खोजी कार्य भइरहेको छ । बेपत्ता भएका ४ मध्ये तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) राजन लिम्बूले मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिरोले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको हो । यादव भने सिरिजङ्गा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानुभएको थियो । पहिरोले घरमा रहेका यादवका श्रीमती, बुहारी र नातिलाई बगाएको छ । यस्तै बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटे स्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी ४ वटा घरहरू बगाई पूर्ण रूपमा क्षति पु¥याएको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिरोले त्यहाँ करिब २० घरपरिवार जोखिममा परेको समेत प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता हुनेहरूको अहिले खोजी कार्य शुरू भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । प्रनाउ लिम्बूका अनुसार बेपत्ता हुनेहरूको खोजी गर्ने कार्यमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ । यता वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेहरूको खोजी तथा अन्य जोखिममा परेकाहरूको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । यद्यपि, मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी कार्य र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिईसकेको प्रजिअ चेम्जोङले बताउनुभयो ।

यसै गरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँठाउँमा भौतिक संरचनामा क्षति पु¥याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङको सहित तीन घर पहिरोले बगाएको छ । त्यस्तै, अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहनुभएका स्थानीय चैतन्यप्रसाद बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै, सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिरोको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् ।

त्यस्तै, तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् । दोभान बजारका स्थानीय टंकप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेका छन् । मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घरहरू पहिरोको जोखिममा परेका स्थानीयले बताएका छन् । ताप्लेजुङको सदरमुकामसहित धेरै क्षेत्रहरूमा विद्युत्समेत अवरुद्ध भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुङ्गेपुललगायतका भौतिक संरचनामा समेत बाढीपहिरोले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिरोले जनधनको क्षति पु¥याउन थालेको छ ।

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयो । स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लाबासीलाई आग्रह गर्नुभएको छ ।

५१ घर उच्च जोखिममा

पहिरोमा परी मैवाखोला गाउँपालिकामा घाइते भएका एकको उपचार भइरहेको छ । सिरिजंगा गाउँपालिकामा ७ घर, सिदिङ्वा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका १गरी ५१ घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै, सिरिजंगा गाउँपालिका एक, सिदिङवा गाउँपालिका एक र मैवाखोला गाउँपालिका एक गरी तीनवटा पक्की मोटरेबल पुल पूर्ण रूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै, ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जानसमेत बन्द भएको छ । सिदिङ्वा, मैवाखोला र सिदिङ्वा गाउँपालिकामा गाई पाँच, भैंसी दुई, बाख्रा आठ बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिरिजंगा गाउँपालिकामा चार घर, सिदिङ्वा गाउँपालिकामा चार र पाथीभरा याङवरक गाउँपालिका एक गरी नौवटा घर पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै, सिदिङ्वा गाउँपालिका एक र सिरिजंगा गाउँपालिकामा एक गरी दुईवटा विद्युत् गृहमा पूर्ण रूपमा क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिकाअनुसार सिरिजंगा गाउँपालिका–८ याम्फुदिनमा र ७ खेवाङमा गरी सात वटा सरकारी कार्यालय पूर्ण रूपमा क्षति भएको छ । सिरिजंगा गाउँपालिका–८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै, एक कुखुरा फर्ममा पूर्ण रूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजंगा गाउँपालिका–८ याम्फुदिनमा एक सामुदायिक विद्यालय समेत बाढीले बगाएको समितिले जनाएको छ ।

बच्चा काखमा च्यापेर तीन दिनदेखि ओढारमा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ र अनिता राई गुरुङ अढाइ वर्षकी छोरी च्यापेर तीन दिनदेखि ओढारमा बसेका छन् । निरन्तर वर्षासँगै बाढीपहिरोले उनीहरू बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो ।
गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए । दुई दर्जनभन्दा बढी बाख्रा पनि लिएर गएका उनीहरू बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरेर बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिमका वडा अध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो ।

  • वडाध्यक्ष तामाङका अनुसार उनीहरू बसेको ओढारको तीनतिरै खोला छन् । कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न समेत समस्या रहेको तामाङले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो–‘बाढीसँगै आएका खोलाहरूमा पानी घटेको छैन । खोला तरेर जाने सम्भव छैन । पानी केहीछिनमा पर्ने र रोकिने क्रम चलिरहेको छ ।’ सुरुङखिम गाउँदेखि करिब ४ घण्टा लाग्ने भएकाले खोला तरेर जान समस्या भएको तामाङको भनाइरहेको छ । वडा सदस्य राजकुमार इम्वुङका अनुसार शनिबार बुरुमखिम टोल विकास समितिका अध्यक्ष याम राईले उद्धारका लागि तीन जनाको टोली पठाएको तर वर्षाका कारण जान नसकेको जानकारी दिनुभयो । स्थानीय र प्रहरी उद्धारका लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताउनुभयो ।

यातायात ठप्प, खोजी कार्य र उद्धारका लागि सास्ती

ताप्लेजुङमा आइतबार आन्तरिक तथा बाह्य यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपताहरूको लागि खोजी तथा उद्धार कार्यका लागि सास्ती भएको हो ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताउनुभयो । तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो दूरी र लामो दूरीमा छुट्ने सवारीसाधनहरू ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै शनिवार राति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ । सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

व्यवस्थापन समितिकाका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् । सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् । विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ ।

ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पाँचथरलगायत जिल्लामा बाढीपहिरोले सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलयाले जनाएको छ ।

ताप्लेजुङ पाँचथर र संखुवासभामा बाढी र पहिरोले पु¥याएको ठूलो जनधनको क्षतिबारे स्थलगत निरीक्षण र राहतका लागि प्रताव मूल्यांकन गर्न कोसी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगरदेखि घटनास्थल प्रस्थान गरेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्