अधिकांश कालोपत्रे सडकमा पार्किङ हट्यो, न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ । कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन ।

महानगरले केही महिनापछि सो क्षेत्रबाट पार्किङ खाली भएपछि न्युरोड क्षेत्रलाई भेइकल फ्री जोन बनाउन लागेको हो । कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धरहरा र काठमाडौं मलको भूमिगत तला खाली भएपछि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘न्युरोड प्रवेश गर्ने सवारीसाधनलाई नेपाली सेनाको महांकालस्थित व्यापारिक भवन, धरहरा र काठमाडौं मलमा पार्किङको व्यवस्था मिलाउँदै छौं, त्यसपछि न्युरोडलाई पार्किङ निषेध क्षेत्र घोषणा गर्नेछांै ।’

न्युरोड, असन, भोटाहिटी, हनुमानढोका दरबारक्षेत्र, मखनलगायतका क्षेत्रको संस्कृति जोगाउन र ती क्षेत्रको पहिचान बनाउन न्युरोड क्षेत्रलाई भेइकल फ्री क्षेत्र बनाउन लागेको कामपाको भनाइ छ । स्थानीयवासीका लागि रातीको समयमा सवारी लैजान निश्चित समय दिने तयारी महानगरको छ ।

सबै सडकको पार्किङ खाली गरेको कापमाको आफ्नो एउटा पनि निःशुल्क पार्किङ छैन । ‘कालोपत्रे सडकमा पार्किङ गर्न नदिने भएपछि कहाँ निःशुल्क गर्न सकिन्छ’ –प्रहरी प्रमुख पाण्डेको भनाइ छ । उहाँले व्यापारिक भवन भएका सबैले आफ्नो भवनको तल्लो तलामा पार्किङको व्यवस्थापन गर्न नसकेपछि समस्या बढेको हो ।

यसअघि कामपाले पटकपटक प्रयास गरे पनि न्युरोडलाई भेइकल फ्री क्षेत्र बनाउन सकेको थिएन । स्थानीय युवा एवं समाजसेवी गणपतिलाल श्रेष्ठले न्युरोड क्षेत्रलाई भेइकल फ्री जोन बनाउने विषय सकरात्मक भए पनि कसरी कार्यान्वयन गर्ने भन्ने सूत्र कामपासँग नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुयो– ‘न्युरोड, असन, इन्द्रचोक, मखनलगायतका क्षेत्रका स्थानीय र व्यापारीको सवारी साधन कहाँ पार्किङ गर्ने भन्ने ठोस योजना नभई हचुवाको भरमा फ्री भेइकल फ्रि जोन गर्नु गलत सावित हुन्छ ।’ उहाँले सरकारको समन्वयमा नेपाल वायु सेवा निगमलाई अन्यत्र स्थानान्तरण गरेर सो क्षेत्रमा बहुतले भवन निर्माण गरी न्युरोड क्षेत्रको सवारी साधनलाई सो क्षेत्रमा पार्किङ गर्ने व्यवस्था भए न्युरोड क्षेत्रलाई भेइकल फ्री क्षेत्र बनाउन समस्या नहुने धारणा राख्नुभयो ।

तर, कामपाले धरहरा, काठमाडौं मललगायत क्षेत्रमा न्युरोड जाने र स्थानीयको सवारीसाधन पार्किङ गर्न मिल्ने गरी व्यवस्थापन गर्न लागेको जानकारी दिएको छ । कामपा प्रहरी प्रमुख पाण्डेले वडा कार्यालय र स्थानीयको समन्वयमा न्युरोड क्षेत्रलाई भेइकल फ्री क्षेत्र बनाउने विषयमा छलफल चलिरहेको जानकारी दिनुभयो । ‘योजना तयार गरिरहेका छौं, दुई स्थान खाली हुनेबित्तिकै न्युरोड क्षेत्रमा पार्किङ फ्री क्षेत्र बनाउनेछौं’ –कामपा प्रमुख पाण्डेको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारक्षेत्रलगायत ऐतिहासिक र सांस्कृतिक शहरको परिचय दिने न्युरोड क्षेत्रलाई भेइकल फ्री क्षेत्र घोषणा गर्न लागेको हो । स्थानीय एवं खड्गी सेवा समाजका अध्यक्ष मनोज नेवाःले न्युरोडको सबै क्षेत्रमा भेइकल फ्री जोन बनाउन सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्किङ भएको क्षेत्रमा सवारी प्रवेश गर्न दिएर बाँकी स्थानमा भेइकल फ्री जोन गर्न गर्न सकिन्छ ।’

उहाँले मखन, इन्द्रचोक, वसन्तपुरलगायत क्षेत्रमा सवारी आवागमनमा रोक लगाएर अन्य स्थानमा पूर्ण रूपमा भेइकल फ्री गर्न सम्भव नहुने तर्क राख्नुभयो । यसअघि महानगरले दरबारमार्ग, बागबजार, कलंकी, कोटेश्वर, बानेश्वर, चावहिल, पुतलीसडक, त्रिपुरेश्वर, माइतीघर, सिनामंगललगायत सबैक्षेत्रको सडक पार्किङ खाली गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्