चर्च ब्वाइज च्याम्पियन, मच्छिन्द्र उपविजेता



काठमाडौं । यस सिजन २०७९÷८० को शहिद स्मारक ए डिभिजन लिग शनिबार समाप्त भएको छ । यस लिगमा डेब्यु गरेको दुई टोली थियो । एउटा चर्च ब्वाइज यूनाइटेड र अर्को खुमलटार युवा क्लब हुन् । यसमध्ये चर्च ब्वाइज लिग च्याम्पियन बन्यो भने खुमलटार बी डिभिजनमा झ¥यो । खुमलटारको लागि यो ए डिभिजन लिग एक सिजनको सावित भयो । चर्च ब्वाइजले भने अर्को सिजन पनि खेल्ने तय गरेको छ ।

चर्च ब्वाइज डेब्यु मै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि मनाङ मस्र्याङदी क्लबले २०४३ सालको सिजनमा डेब्युमै लिग च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको थियो । चर्च ब्वाइजले यसपटक राम्रै खेल्यो । २६ खेलमा केवल ४ खेलमा मात्रै हार बेहो¥यो भने १३ खेलमा जित हात पारेको थियो । चर्च ब्वाइज ९ खेलमा बराबरी खेलेपछि ४८ अंकसहित शीर्ष स्थानमा रह्यो । चर्च ब्वाइजले पहिलो पुरस्कार ७५ लाख प्राप्त गर्ने भएको छ ।

चर्च ब्वाइजले उपाधि जित्नु लिगको लागि बेग्लै स्वाद पनि पस्केको छ । सँधै तीन ओटा टोलीमध्ये एक टोली च्याम्पियन बन्ने भइरहेको थियो । थ्रीस्टार, मनाङ र पुलिसबीच उपाधि होड भइरहन्थ्यो । यो एकाधिकारीलाई मच्छिन्द्र एफसीले तोडेको थियो । २०७६ सालमा उपाधि जितेर मच्छिन्द्र लिग जित्ने नयाँ टोली बनेको थियो । यसपछि पनि मच्छिन्द्रले नै उपाधि जितेको थियो ।

यस सिजनमा मच्छिन्द्र दोस्रो स्थानमा रह्यो । मच्छिन्द्र ३ अंकले उपाधिमाथि ह्याट्रिक गर्नबाट वंचित भएको थियो । मच्छिन्द्रले ५० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल ग¥यो । पुलिस शुरुवाती केही खेलमा पराजित भएर रेलिगेशन हुने छाँटकाँटमा थियो । तर, जब पुलिसले आफ्नो परम्परा तोडेर विदेशी खेलाडीलाई मौका दियो । त्यसपछि पुलिसको भाग्य नै फरक भयो र तेस्रो स्थानमा पु¥यायो । गत सिजनमा पुलिस ११ औं स्थानमा थियो । पुलिसले २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।

चौथो स्थानमा जावलाखेल युथ क्लब रह्यो । पहिलो लेगमा जावलाखेल निकै शसक्त थियो । जावलाखेलले उपाधि जित्ने छनक देखाएको थियो । तर, दोस्रो लेगमा आएर कमजोर हुन पुगेको थियो । लगातार महत्वपूर्ण अंक ड्रप गर्दै गएपछि चौथो स्थानमा चित्त बुझाउनु परेको थियो । जावलाखेलले ३७ अंक जोडेको थियो । पाँचौ स्थानमा सातदोबाटो युवा क्लब रह्यो । गत सिजनमा लिगमा डेब्यु गरेको सातदोबाटोको प्रदर्शन यस सिजनमा पनि रामै्र रहेको थियो ।

थ्रीस्टारको साख जोगियो

रेलिगेसनबाट जोगिन जित निकाल्नै पर्ने खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको छ । कप्तान विक्रम लामाले करिअरको अन्तिम खेलमा विजयी पेनाल्टी गोल गर्दा थ्री स्टार रेलिगेसनबाट जोगियो । यस नतिजाले नेपाल एपिएफ फुटबल क्लब भने रेलिगेशनमा परेको छ । थ्री स्टारले २६ खेलबाट ३२ अंक जोडेर नवौं स्थानबाट यस सिजनको लिग अन्त्य गरेको छ ।

८३ औं मिनेटमा विक्रम लामाले पेनाल्टीमा गोल गर्दै थ्री स्टारको टोलीलाई जीवन दान दिएका थिए । पेनाल्टी बक्समा प्रमिन श्रेष्ठले कप्तान विक्रमलाई फाउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी प्रदान गरेका थिए । दवावमा रहेका विक्रम गोल गर्न चुकेनन् । यो गोलसँगै थ्रीस्टारका खेलाडी, पदाधिकारी र समर्थकको खुशीयाली हेर्नलायक बनेको थियो ।

एपीएफ बी डिभिजनमा

एपीएफको ए डिभिजनको १८ वर्ष लामो करियर यस सिजनमा अन्त्य भएको छ । टोली ३० अंकसहित १३ औं स्थानमा रहेर बी डिभिजनमा घटुवा भएको हो । जारी लिगमा एपीएफले राम्रै प्रदर्शन गरिरहेका थिए । तर, अन्तिमतिर आएर यो टोलीको प्रदर्शन संतोषजनक भएन ।

एपीएफले आफ्नो अन्तिम खेलमा फ्रेन्ड्ससँग ४–० को ठूलो हार बेहोरेको थियो । यसले नै एपीएफलाई रेलिगेशनमा पु¥याउनतिर लगायो । योसँगैं पहिलो पटक विभागिय टोली रेलिगेशनमा परेको हो । विभागिय टोली एपीएफ, आर्मी र पुलिस बी, सी डिभिजन खेलेर आएका टोली होइनन् । अर्को सिजनको लिगमा तीन विभागिय टोली रहने छैन ।

रेलिगेशनमा पर्ने अर्को टोली खुमलटार युवा क्लब हो । खुमलटार यसपटक ए डिभिजनमा पहिलो पटक खेलेको हो । तर, टोली यही सिजनबाट फेरि बी डिभिजनमा फर्केको छ । खुमलटारले शुरुवातमा रामै्र खेलेको थियो । तर, यो प्रदर्शन अन्तसम्म भएन । जारी लिगमा खुमलटार २७ अंकसहित अन्तिम स्थानमा रहेको थियो । यस्तै जारी लिगमा सर्वाधिक गोल खाने टोली पनि खुमलटार नै हो । यो टोलीले ५४ गोल आत्मसात गरेको थियो ।

अनन्त मोस्ट भ्यालुएबल खेलाडी

यस सिजनको शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा अनन्त तामाङ मोस्ट भ्यालुएबल खेलाडी चुनिए । च्याम्पियन टोली चर्च ब्वाइज युनाईटेडका कप्तान अनन्तले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनले यो उपाधिवापत ३ लाख नगद पुरस्कार पनि प्राप्त गरे ।

यस्तै आगामी असारमा हुने साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहेका लाकेन लिम्बु लिगमा उदीयमान खेलाडी घोषित भए । थ्री स्टारका युवा मिडफिल्डर लाकेनले मणि शाह उदीयमान खेलाडी अवार्ड प्राप्त गरेका हुन् । उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी यस सिजनको लिगमा ११ क्लिन सिट राख्दै चर्च ब्वाइजका गोलकीपर प्रिसो उत्कृष्ट गोलकीपर घोषित भए । प्रिसोले २ लाख रुपैयाँ पाए । नेपाल पुलिस क्लबले फेयर प्ले अवार्ड जित्यो । पुलिसले पनि २ लाख प्राप्त गर्यो । त्यस्तै ओलावाले आफिजले २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले २ लाख रुपैयाँ प्राप्त गरे ।

विक्रमको संन्यास

थ्रीस्टारलाई ए डिभिजनमै रहन स्मरणीय गोल गरेका कप्तान विक्रम लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले थ्री स्टारबाट झण्डै डेढ देशक व्यवसायिक फुटबल खेलेका थिए । शहिद स्मारक ए डिभिजन लिगको पुरस्कार वितरण समारोहमा उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोट लगाइदिएका थिए ।

त्यसलगत्तै उनलाई टोलीले गार्ड अफ अनर गरेका थिए । त्यसअघि विक्रमले समर्थकलाई अभिवादन गर्दै विदाई लिएका थिए । उनले सन् २०१३ फेब्रुअरी ६ मा पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ३० क्याप जितेका थिए ।

अघिल्लो दिन व्यवसायिक खेल जीवनबाट सन्यास लिएका नेपाल पुलिस क्लबका जुमानु राई र भोला सिलवाललाई पनि थ्री स्टारका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए । शुक्रबार अन्तिम खेल खेलेका त्रिभुवन आर्मी फुटबल क्लबका दीपक गुरुङलाई आर्मी टोलीले गार्ड अफ अनर दिएको थियो ।

कूल ४ सय ३७ गोल

दोहोरो लिगमा खेलाइएको यस सिजनको शहिद स्मारक ए डिभिजन लिगमा कूल ४ सय ३७ गोल भएको छ । लिगमा चार ह्याट्रिक भएको थियो । मच्छिन्द्रका ओलावाले आफिजले दुई ह्याट्रिक गर्दा चर्च ब्वाइज यूनाइटेडका अन्जन विष्ट र जावलाखेल युथ क्लबका स्टेफान बिनोङले एक÷एक ह्याट्रिक गरेका थिए । यसमध्ये व्यक्तिगतर्फ सर्वाधिक गोल आफिजले २३ गोल गरे ।

गोलकर्ता :

२३ गोल—ओलावाले आफिज (मच्छिन्द्र) (१ असिस्ट),
१८ गोल— मेसुके ओलोमोउ (खुमलटार) (४ असिस्ट),
१६ गोल—एन्कोटे मासोबी (जावलाखेल) (३ असिस्ट)
१३ गोल—रफिक अमिनु (फ्रेन्ड्स)
१२ गोल—दीपकराज सिंह ठकुरी (सातदोबाटो) (१ असिस्ट),
१० गोल—स्टेफान बिनोङ (खुमलटार) (४ असिस्ट),
९ गोल—कोफी कोडु (मनाङ) (२ असिस्ट),
८ गोल— फोडे फोफाना (जावलाखेल) (४ असिस्ट), नवयुग श्रेष्ठ (आर्मी) (२ असिस्ट), अर्मान्ड बीडोम (एपीएफ) (२ असिस्ट), मोसेस ग्याबाहा (पुलिस) (१ असिस्ट)
७ गोल— विलियम ओपोकु (सातदोबाटो) (५ असिस्ट), आशीष चौधरी (चर्चब्वाइज)
अजायी मार्टिन्स (थ्रीस्टार), अन्जन विष्ट (चर्च ब्वाइज), टोरिक जेब्रीन (फ्रेन्ड्स) (३ असिस्ट), अहमद हिजाजी (पुलिस) (१ असिस्ट),
६ गोल— टोरिक जेब्रिन (फ्रेन्ड्स) (३ असिस्ट), जिलेस्पीजंग कार्की (आर्मी) (१ असिस्ट), ओन्गुना एन्केन्गु (संकटा) (२ असिस्ट), आहायोमी फाकुन्ले (हिमालयन शेर्पा) (२ असिस्ट), संजिव विष्ट (एनआरटी) (१ असिस्ट), बिमल घर्तीमगर (मच्छिन्द्र),
५ गोल— प्रकाश बुढाथोकी (फ्रेन्ड्स) (१ असिस्ट), युसुफ एरिज (संकटा), निकोलास सर्ज सङ (एनआरटी) (१ असिस्ट), आभाष लामिछाने (एपीएफ) (१ असिस्ट), सुदिल राई (आर्मी) (१ असिस्ट), युसुफ एरिस (संकटा)
४ गोल—हिसब थपलिया (जावलाखेल) (४ असिस्ट), दिनेश हेन्जन (आर्मी) (३ असिस्ट), अनन्त तामाङ (चर्च ब्वाइज), मनिष डाँगी (संकटा) (२ असिस्ट), रोशन रानामगर (मनाङ), मुटाम्बा पिस्टोन (हिमालयन) (३ असिस्ट), अमित तामाङ (फ्रेन्ड्स) (१ असिस्ट), लालनुन्जामा (एनआरटी) (२ असिस्ट), सयीदजामोल (मनाङ)

प्रतिक्रिया दिनुहोस्