अप्राकृतिक एवं अव्यवस्थित जीवनशैलीका कारण अहिले अधिकांश मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा बढेको पाइन्छ । कोलेस्ट्रोल बढेर ब्लड प्रेसर बढ्ने र हृदयघातसम्म हुन सक्ने कुरामा आम मानिस पनि जानकार छन् । तसर्थ रगतमा कोलेस्ट्रोलको मात्रा बढेको पाउनासाथ मानिसहरु निकै चिन्तित हुने गरेको पाइन्छ । कोलेस्ट्रोल बढ्ला कि भनेर स्वस्थ मानिसहरुले हिजोआज विभिन्न प्रकारका औषधिको सेवन गर्ने गरेको पाइन्छ । धेरै खालका परहेज गरेर तनावमा पर्ने गरेको पनि पाइन्छ ।
सामान्यतः बोसोबाट बनेको उत्पादनलाई चिकित्सा विज्ञानमा लिपिड भनेर बुझ्न सकिन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइड पनि एक प्रकारका लिपिड हुन् । बोक्रा फालिएको मुगंको दालको दानाजस्तो देखिने जैव रसायन हुन् । जब शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा असन्तुलित अवस्थामा पुग्दछ, त्यस अवस्थालाई चिकित्सा विज्ञानको भाषामा डिसलिसिडिमिया भनिन्छ ।
कोलेस्ट्रोलको स्रोत र कार्य :
शरीरलाई चाहिने कोलेस्ट्रोल र ट्राइग्लिसराइड मानव कलेजोले नै उत्पादन गर्ने गर्दछ । त्यसबाहेक आवश्यक अरु कोलेस्ट्रोल र ट्राइग्लिसराइड मान्छे स्वयंले खाने बोसोयुक्त खानाहरुबाट प्राप्त हुन्छ ।
कोलेस्ट्रोल र ट्राइग्लिसराइड निश्चित मात्रामा शरीरको अनिवार्य आवश्यकता हुन् भने निश्चित मात्राभन्दा बढी वा कम भए त्यसले स्वास्थ्यमा जटिल समस्या ल्याउँछ । त्यसैले कोलेस्ट्रोल र ट्राइग्लिसराइड मानव शरीरमा दुईधारे तरबारजस्तै हुन् । कोलेस्ट्रोल र ट्राइग्लिसराइडले मानव शरीरमा कोषहरुको झिल्लीको निर्माण गर्दछ । साथै कोषको पुनर्निर्माणमा पनि सहयोग गर्दछ । यसले हर्ममोनहरु, स्टेरोइड, बाइल साल्ट र भिटामिन ‘डी’को निर्माणमा सहायक कच्चा पदार्थको रुपमा कार्य गर्दछ ।
कोलेस्ट्रोलको जाँच :
रगतको नमुनाबाट लिपिड प्रोफाइल नामक परीक्षण गरेर व्यक्तिको शरीरमा हुने कोलेस्ट्रोल र ट्राइग्लिसराइडको सम्पूर्ण अवस्था जान्न सकिन्छ । लिपिड प्रोफाइल टेस्टबाट अन्य अरु धेरै कुराहरुको जानकारी एकसाथ प्राप्त हुन्छ ।
लिपिड प्रोफाइल अन्तर्गत एचडीएल (गुड फ्याट), एलडीएल (ब्याड फ्याट), ट्राइग्लिसराइड, एचडीएल अनुपात, टोटल कोलेस्ट्रोल आदि पर्दछन् । १२ घन्टासम्म खाना नखाई रगत संकलन गरेर लिपिड प्रोफाइलको जाँच गरिन्छ । नेपाल मेडिकल कलेज जर्नलमा सन् २००८ मा प्रकाशित ‘लिपिड प्रोफाइल अफ एडल्ट नेप्लिज पपुलेसन’ अनुसन्धानका अनुसार लिपिड प्रोफाइलका सबै जाँचहरु ४१ देखी ६० वर्ष उमेर समूहका नेपालीहरुमा बढेको पाइएको थियो ।
कोलेस्ट्रोल बढी वा कम भए के हुन्छ ?
शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढे अर्टरी (रक्तनली) हरुलाई बाक्लो र कडा बनाइदिन्छ । जसलाई चिकित्सा विज्ञानमा अर्थेरोस्कलेरोसिस भनिन्छ । यसरी बाक्लो हुँदै गएको रक्तनली कलान्तरमा थुनिन पुग्दछ, जसले गर्दा हर्ट एट्याक वा स्ट्रोक हुने हुन्छ । समग्रमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढेर शरीरको महत्वपूर्ण रक्तसञ्चारमा अवरोध हुन्छ ।
शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड कम हुने अवस्थालाई हाइपोलिपिडिमिया भनिन्छ । धेरै कम व्यक्तिलाई हाइपोलिपिडिमिया हुने गर्दछ । शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड कम भए कोषहरुको झिल्लीलाई असर गर्दछ । साथै मस्तिष्कभित्र रक्तस्राव हुन सक्ने सम्भावना हुन्छ । एडर्नल्ड ग्ल्यान्डमा खराबी आउन सक्ने हुन्छ । साथै शरीरमा सक्रमण फैलिन सक्ने सम्भावना हुन्छ ।
कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढ्ने अवस्था :
अप्राकृतिक एवं अव्यवस्थित खानपिन (साथै व्यायामको अभाव), मधुमेह रोग, मिर्गौलासम्बन्धी रोग, पोलिसिस्टिक ओभरी रोग, थाइराइड ग्ल्यान्डमा गडबडी भए, गर्भधारणको अवस्था आदिले शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा बढ्ने गर्दछ । मानव शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड वंशाणुगतरुपमा पनि बढ्छ ।
कोलेस्ट्रोल नियन्त्रण :
व्यक्तिले खाने बोसोयुक्त खाना कोलेस्ट्रोल र ट्राइग्लिसराइडको स्रोत हो । यदि खानामा सही परिकार, सही मात्रा, सही तरिकाले खान सके कोलेस्ट्रोल र ट्राइग्लिसराइडको समस्या धेरै हदसम्म समाधान हुन सक्छ । अव्यवस्थित र अप्राकृतिक खानपिन शैलीले अहिले ७० प्रतिशतभन्दा बढी मानिस मोटा छन् (तौल बढी छ) । मोटोपन हटाउन वा घटाउन पहल गरे कोलेस्ट्रोल र ट्राइग्लिसराइडको वृद्धि नियन्त्रण हुन सक्छ । आमरुपमा सबैले व्यायाम गर्न थाले कोलेस्ट्रोल र ट्राइग्लिसराइडको वृद्धि धेरै हदसम्म नियन्त्रणमा आउन सक्छ । अधिकांश मानिसहरु बाहिरको खाना खान अभ्यस्त छन्, जुन कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढ्नुको मूल कारणमध्ये हो । कोलेस्ट्रोल र ट्राइग्लिसराइड नियन्त्रणका लागि घरमै बनाएको खाना खाने अभ्यास गर्नु जरुरी छ ।
बोसोयुक्त खाना कोलेस्ट्रोल र ट्राइग्लिसराइडको बाह्य स्रोत हो । मानिसले खाने बोसो ३ प्रकारका हुन्छन्– स्याचुरेटेड फ्याट (जनावरहरुबाट प्राप्त हुने बोसो), अनस्याचुरेटेड फ्याट (वनस्पतिहरुबाट प्राप्त बोसो) र ट्रान्स फ्याट (फास्ट फुड, जंक फुड, प्रशोधित खाना, तयारी खाना, प्याक्ड फुड आदिबाट प्राप्त बोसो) ।
आयुर्वेदिक हिसाबले कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नियन्त्रण गर्न सर्वप्रथम ट्रान्स पm्याट्को स्रोत फास्ट फुड, जंक फुड, प्रशोधित खाना, तयारी खाना, प्याक्ड फुड आदि चटक्कै छोड्नुपर्दछ । घरमा बनेको खानामात्र खानुपर्दछ । कम्तीमा ३ महिनालार्ई माछा, मासु, अण्डा र डेरी प्रोडक्टस सबै बन्द गरिदिनुपर्छ, ताकि शरीरमा स्याचुरेटेड फ्याटको आपूर्ति पनि बन्द होस् । सबै खाले मौसमी फलफूल तथा हरियो सागसब्जी अधिक मात्रामा खान सकिन्छ, जसबाट अनस्याचुरेटेड फ्याटको मात्रा शरीरमा आपूर्ति भइरहन्छ । तारेर वा भुटेर तयार गरिने वनस्पतिजन्य पदार्थबाट प्राप्त बोसोको प्रयोग गर्नु पनि अस्वस्थकर हुने भएकोले त्यसो नगरी प्रयोग गर्नु लाभदायी हुन्छ ।
शरीरमा पूर्वसञ्चित कोलेस्ट्रोल र ट्राइग्लिसराइडको व्यवस्थापन गर्न दैनिक ४ देखि ५ किलोमिटर हिँड्ने गर्नुपर्दछ वा ३० मिनेटजति पसिना आउने गरी व्यायाम गर्नुपर्दछ । साथै दिनभरिमा पर्याप्त मात्रामा पानी पिउनुपर्दछ । खानामा कार्बोहाईड्रेट (भात वा रोटी) र प्रोटिन (दाल) समान मात्रामा समावेश गर्नुपर्दछ । दैनिकरुपमा केही बदाम, किसमिस, ओखर आदि सुख्खा फल खाए शरीरमा भिटामिन र खनिज तत्वहरुको सम्यकरुपमा आपूर्ति हुन्छ । दिनको तीनपटक मात्र भोजन गरे प्रभावकारीरुपमा शरीरको कोलेस्ट्रोल र ट्राइग्लिसराइड नियन्त्रणमा आउँछ ।
चिकित्सको सल्लाहबमोजिम लसुनको केस्रा, अर्जुन छालको पाउडर, अश्वगन्धाको पाउडर, धनियाँको फल, मेथीको पाउडर, हरियो अमला आदि जडीबुटीको नियमित प्रयोगले कोलेस्ट्रोल र ट्राइग्लिसराइडबाट सदाका लागि छुट्कारा पाउन सकिन्छ ।
(डा. रामदेव पण्डित, साधना हेल्थ मासिक, वि.सं. २०७९ चैतबाट साभार)
प्रतिक्रिया