सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा : सचिव सहसचिव सधैं मिटिङमा व्यस्त, तर उपलब्धि छैन



–मिटिङका ८० प्रतिशत निर्णय निष्प्रभावी
–सचिव बैठकको निर्णय नै हँुदैन कार्यान्वयन
–प्रशासकको बैठकमा राजनीतिक हस्तक्षेपबारे कहिल्यै कुरा उठ्दैन
–केही प्रशासकहरू हस्तक्षेपमा रमाउने गर्छन्
–हँुदैन अनुगमन
–कैयौं मिटिङ तारे होटलमा

काठमाडौं । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ ।

मन्त्रालयमा दिनहुँजसो मिटिङ हुने भए पनि मिटिङले गरेकामध्ये ८० प्रतिशतभन्दा बढी निर्णय कार्यान्वयन नै नहुने गरेको सरकारी अधिकृतको दाबी छ । सचिव सहसचिवको लगातारको मिटिङले मन्त्रालयमा शाखा अधिकृत तथा खरिदार सुब्बालगायतका कर्मचारीहरू नै अचम्ममा पर्ने गरेका छन् ।

यतिसम्म कि मुख्य सचिवको अध्यक्षतमा हुने सचिव बैठककै कैयौं निर्णयहरू कार्यान्वयन नभई त्यसै थन्कने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक शाखा अधिकृतका अनुसार सचिव बैठक नियमित भए पनि बैठकले गरेका कैयौं निर्णयहरू त्यसै अलपत्र पर्दै आएका छन् । मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिव बैठकले गरेका निर्णयहरूको अनुगमन गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयको भए पनि त्यस सम्बन्धमा कहिल्यै कुनै अनुगमन नहुने गरेको ती शाखा अधिकृतको भनाइ छ ।

नीति निर्माण तहमा समेत पहँुच राख्ने सिंहदरबारका सचिव सहसचिवहरू लगातार मिटिङमा व्यस्त हुने गर्दा पनि जनसरोकारका समस्याहरू समाधान गर्ने प्रभावकारी योजना र कार्यक्रम ल्याउन सकेका छैनन् । ‘शिक्षा र स्वास्थ्यमा अत्यधिक विकृति छ, जनताहरू महँगीको मारले आक्रान्त छन् तर सचिव सहसचिवको दिनहुँको बैठकले जनताका यी समस्या समाधान गर्ने विषयमा ठोस पहल र निर्णय गर्न सक्दैन’ –प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । कैयौं सचिव सहसचिव बाहिरी काममा व्यस्त हुँदा पनि उनीहरू कार्यालयकै मिटिङमा व्यस्त भएको भन्दै सन्देश दिने गरेको स्रोतको दाबी छ ।

मिटिङमा मात्रै वार्षिक करोडौं रुपियाँ खर्च हुने गरेको छ भने मिटिङबाट हुने ८० प्रतिशत निर्णय नै कार्यान्वयन नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विभिन्न अध्ययनहरूले देखाएको छ । प्रशासकहरूले कैयौं मिटिङ मन्त्रालयमा गर्न छोडेर महँगो तारे होटलमा समेत गर्ने गरेको बताइन्छ ।

सेवा ग्राहीको अनुभवमा मन्त्रालयका हाकिमहरू न त सेवाग्राहीको काम राम्ररी गर्छन् नत महत्वपूर्ण नीति तथा योजनाहरूको प्रस्ताव नै तयार पार्छन्, उनीहरू त कसरी हुन्छ मिटिङको नाममा समय कटाउन खप्पिस छन् । अधिकांश उच्च पदस्थहरूले आफ्नो र निकटहरूको स्वार्थलाई बढी ध्यान दिने गरेको बताइन्छ ।

मुलुक संघीयतामा गएको सात वर्ष पुगिसक्दा समेत मन्त्रालयका सचिव सहसचिवहरूको प्रवृत्ति उस्तै रहेको देखिन्छ । ‘कैयौंमा केन्द्रीकृत सोच र शासकीय सोच अत्यधिक छ, सेवाको भावना भएका सचिव सहसचिव अत्यन्तै कम छन्’ –सेवाग्राहीको आरोप छ ।

हाल सरकारी कार्यालय समय बिहान १० देखि ५ वजे सम्म हो । तर, मन्त्रालय तथा सरकारी कार्यालयमा सचिव सहसचिवलगायतका उच्च पदाधिकारीहरू सो समयमा आफ्नो च्याम्बरमा बिरलै भेटिने गरेको बताइन्छ ।

सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालयमै प्रायः सचिव सहसचिवहरू भेट्न सेवाग्राहीलाई हम्मेहम्मे हुने गरेको छ । सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयको पनि हालत उही छ ।

विभिन्न काम लिएर मन्त्रालयका सचिव सहसचिवलाई भेट्न आउने सेवाग्राहीसँग सचिवालयका कर्मचारीहरूको रेडिमेड जवाफ आउँछ– ‘सचिव, सहसचिवज्यूहरू मिटिङमा जानुभएको छ, भेट्न कठिन छ ।’

कर्मचारीहरूका अनुसार कतिपय सचिव सहसचिवले व्यक्तिगत काममा जाँदा पनि आफ्नो सचिवालयका कर्मचारीलाई मिटिङमा गएको भन्न लगाउने गरेका छन् । उनीहरू कार्यालय समयमा नै सरकारी गाडी लिएर व्यक्तिगत काममा, सपिङमा तथा आफ्ना आफन्तहरूको विभिन्न काममा हिँड्ने गर्दा पनि मिटिङमा गएको भन्न लगाउने गरेको बताइन्छ ।

स्रोतका अनुसार मुख्य सचिवको अध्यक्षतामा हुने बैठकमा सेवा प्रवाह र सुशासनको बारेमा खासै छलफल हँुदैन । विभिन्न कर्मचारीहरूले ठुलै खालका गल्ती गरेको भए पनि त्यस्ता कर्मचारीलाई विभागीय कारबाही हुने बारेमा समेत सचिव बैठकमा कहिल्यै पनि छलफल नहुने गरेको स्रोतको दाबी छ ।

यस्तै, मन्त्रालयमा हुने बैठकले पनि मातहतका निकायका कर्मचारीले गरेका गल्तीका बारेमा उसलाई सचेत पार्ने तथा विभागीय कारबाही गर्ने विषयमा कहिल्यै कुनै छलफल हुने गरेको पाइँदैन । कहिलेकाहीँ मन्त्रालयहरूले कुनै अध्ययन गर्न तथा छानबिन गर्न कुनै समिति बनाए पनि ती समितिहरूले पनि प्रभावकारी रूपमा काम गर्न नसकेको पाइन्छ ।

सरकारका अधिकांश कार्यहरू औपचारिकतामा सीमित हुँदा पनि सरकारका सचिव सहसचिवहरू खासै संंंवेदनशील नहुने गरेको आरोप उनीहरूमाथि लाग्ने गरेको छ । अर्कोतर्फ राजनीतिक नेतृत्ववाट प्रशासनमाथि हस्तक्षेप हुँदा पनि सचिव सहसचिवहरू मुकदर्शक बन्ने गरेका छन् ।

केही सचिव सहसचिवहरू माथि प्रशासनमा हुने राजनीतिक हस्तक्षेपमा रमाउने गरेको र आफंैले राजनीतिक हस्तक्षेपको आमन्त्रण गर्ने गरेको आरोप लाग्ने गरेको छ । मुख्य सचिवले पनि प्रशासनमा हुने राजनीतिक हस्तक्षेप रोक्ने विषयमा मिटिङहरूमा खासै छलफल गर्ने नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्