शारीरिक अपांगता भएका ८ सय ५० को उद्धार



भक्तपुर । मानव कल्याण समाज (सेवा घर)ले बेसाहारा, सडकमा अलपत्र र अपांग भएकाआठ सय ५० को उद्धार गरेको छ ।

आठ वर्षअघि सात जना सडकमा अलपत्र मानवलाई सडकमै गएर खाना खुवाएर शुरू भएको अभियानअन्तर्गत हाल भक्तपुरसहित काभ्रे, काठमाडौं, दाङ र बाराका ६ शाखाका ३५० जनालाई उद्धार गरी बासस्थानको व्यवस्था गरिएको समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिनुभयो ।

यस अवधिमा बेसाहारा, सडकमा अलपत्र, अपांग गरी ८५० को उद्धार र उपचार गरिएको चौलागाई बताउँनुहुन्छ । यसका साथै करिव चार सयलाई परिवारमा पुनर्मिलन गरिएको छ ।

अध्यक्ष चौलागाईले यो कार्यको थालनी गर्दा घरपरिवार र समाजबाट आफूलगायतका सात जना स्वयंसेवी नै बेसहारा र तिरस्कृत बन्नु परेको उदाहरण प्रस्तुत गर्नुभयो । यद्यपि पछिल्लो समय केही पालिका, स्थानीय दातालगायतका सहयोगीहरू बढ्दै गएपछि व्यवस्थापनमा सहजता भएको अध्यक्ष चौलागाईले बताउनुभयो ।

चागुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री समाजले चाँगुनारायणबाट शुरु गरेको अनाथ, असहायहरूको उद्धार तथा पुनःस्थापनाको कार्य मुलुकभरमै उदाहरणीय रहेको बताउँनुभयो ।

स्थायी संरचनाको अभावमा समाजले गर्ने कार्य व्यवस्थित हुन नसकेको बताउँदै प्रमुख खत्रीले समाजका लागि स्थायी भवन, आवश्यक जग्गा र चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट शुभारम्भ गर्नेगरी व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो ।

मानव कल्याणले गरेका कार्य अत्यन्तै सराहनीय भएको बताउँदै नगरप्रमुख खत्रीले यसको स्थायित्वको जिम्मेवारी चागुनारायण नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्