गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थको जालो : बहालवाला सचिव पक्राऊ, पूर्वमन्त्रीविरुद्ध वारेन्ट जारी



–खाँणले गृहमा ल्याएका थिए पाण्डेलाई
–अनुुसूची ९मा थप गरेर बद्मासी
–अझै धेरै जना तानिन सक्ने

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थ कर्मचारी समेतको जालो बुनिएको खुलेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपियाँसम्म असुली गर्ने गिरोहसँग नेतादेखि सरकारी उच्च पदस्थ समेतको जालो कसिएको हो ।

यस प्रकरणमा गिरोहसँगको जालोमा संलग्न रहेको पाइएपछि तत्कालीन गृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ पर्नुभएको छ । उहाँलाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपगरी अनुसन्धान गर्न अनुमति दिएको छ । पाण्डेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा राखिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपियाँसम्म असुली गर्ने गिरोहसँग पाण्डेको मिलेमतो देखिएको प्रहरीको दाबी छ ।

यसअघि प्रहरीले पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई मंगलबार नै पक्राउ गरिसकेको थियो । राइलाई जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । राईले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपियाँ लिएको तथ्य फेला परेको प्रहरीको दाबी छ ।

सोही प्रकरणमा पूर्व मन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी र बादलका छोरा प्रतीक थापाका नाममा समेत वारेन्ट जारी गरिएको काठमाडांै प्रहरी परिसरले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट बुधबार पक्राउ पुर्जी लिएसँगै उनीहरूलाई पक्राउपुर्जी जारी गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । गैर कानुनी असुलीमा शक्तिशाली व्यक्तिहरू पक्राउ पर्ने र पक्राउ पुर्जी जारी भइरहेको ज्ञवालीको भनाइ छ ।

‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि उनीहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो’, ज्ञवालीले भन्नुभयो– ‘यसअघि पक्राउ परेकाहरूले उक्त ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए । सोही आधारमा थप अनुसन्धान गर्दा नेताहरूको संलग्नता देखिएको छ ।’ तत्कालीन गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरूको बयान लिने क्रममा एमाले उपाध्यक्ष थापा (बादल) र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरूले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको बयान दिएको बताइएको छ ।

२०७४ फागुन १४ देखि २०७८ असार २८ सम्म रामबहादुर थापा गृहमन्त्री बन्नुभएको थियो । त्यसपछि बालकृष्ण खाँणको पालामा समेत यो गिरोहले नक्कली शरणार्थी बनाउने प्रयास जारी राखेको पाइएको अनुसन्धान अधिकृतको टोलीले जनाएको छ । कांग्रेस नेतृ सुजाता कोइराला (परराष्ट्रमन्त्री) को सचिवालयमा काम गर्ने केशव दुलालले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग ‘सेटिङ’ गरेको समेत खुलेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसबेला पाण्डेसँग ‘सेटिङ’ मिलाएर ‘मोटो रकम असुली’ गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी अधिकृतहरू बताउँछन् । बालकृष्ण खाँण गृहमन्त्री बन्नुअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत पाण्डेलाई खाँणले गृहमा सरुवा गराएर ल्याउनुभएको थियो ।

शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरूबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागिपरेको थियो । तर, सो कार्यदलले नाम थप्न अस्वीकार गरेको थियो ।

बादल गृहबाट बाहिरिएपछि २९ असार २०७८ मा बालकृष्ण खाँण गृहमन्त्री हुँदासम्म अनुसूची थप्ने काम पूरा भइनसकेकाले गृहसचिव पाण्डेलाई हातमा लिएर यो गिरोहले काम गरेको प्रहरीको अनुसन्धानले देखाएको एआईजी ज्ञवालीको भनाइ छ । यो गिरोहकाविरुद्ध १४५ जनासँग १५ देखि २५ लाख रुपियाँसम्म असुली गरिएको भन्दै २० वटा जाहेरी दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्