एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे



गण्डकी।

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा उनले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

नवनियुक्त पाण्डेले उत्पादन र आर्थिक गतिविधिसँग जोडिने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए । “प्रदेशले अर्काको मुखमात्र ताकेर योजना बनाउनुपर्ने अवस्था हुनुहुँदैन, आम्दानीका स्रोत बढाउने, आर्थिक गतिविधिलाई प्रभावकारी बनाउनेमा सरकारको जोड रहन्छ”, उनले भने ।

पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले एक साताभित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले मन्त्रालयको सङ्ख्या पनि नथपिने प्रष्ट पारे ।

आज मुख्यमन्त्री पाण्डेसँगै दुई नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य सुशीला सिम्खडा र नेपाली कांग्रेसका सरस्वती अर्याल तिवारीले विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित भएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

प्रतिक्रिया दिनुहोस्