चिकित्सा शिक्षा आयोगमाथि भएको प्रहारप्रति डा.केसीको ध्यानाकर्षण



काठमाडौँ  ।  

 पछिल्लो समयमा चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर भइरहेको प्रहारप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द के सीको ध्यानाकर्षण भएको छ ।

लामो संघर्षपछि २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएको हो र त्यसै अन्तर्गत चिकित्सा शिक्षा आयोग स्थापना भएको हो । स्थापना भएयता आयोगले चिकित्सा शिक्षा सुधारका लागि निरन्तर काम गरिरहेको अवस्थामा मेडिकल शिक्षा सुधारबाट आतिएका केही व्यक्तिले निरन्तर आयोग र त्यसका पदाधिकारीहरुमाथि निराधार भ्रम फैलाउने र आक्रमण गर्ने कार्य गर्दै आएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

तीनै व्यक्तिको उक्साहटमा पछिल्लो समय राजनीतिक दलका विद्यार्थी संगठनका नाममा आयोग परिसरमा गुण्डागर्दी र आगजनी भएको भन्ने समाचारहरु आइरहेका छन् । त्यस्तो दण्डनीय अराजकताका लागि विधिको शासन भएको राज्यमा कुनै छुट हुनु नहुने माग गर्दछौ । तत्काल त्यस्तो कर्ममा संलग्न व्यक्तिहरुलाई कानुनअनुसार दण्डित गर्न हामी काठमाडौँ जिल्ला प्रशासन र नेपाल प्रहरीको ध्यानाकर्षण गर्दछौँ डा. केसीले अन्नपूर्ण गाउँपालिका, म्याग्दीबाट बुधबार जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैबीच आयोगले कार्यविधि पुर्‍याएर रितपूर्वक साझा प्रवेश परीक्षा सञ्चालन गरेकोमा बारम्बार त्यसलाई लिएर विभिन्न पक्ष अदालतमा जाने र शिक्षण संस्थाहरुको रुटिन नै खलबलिने गरी मुद्दामामिला हुने अवस्थाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । न्यायालयमा यस्ता विषय प्रवेश गरेपछि तिनको गम्भीरता बुझेर समयमै संवेदनशीलतापूर्वक फैसला दिनु न्यायालयको कर्तव्य बन्छ । न्यायालयले पनि छिट्टै यस्ता विषयलाई विषयविज्ञहरुको विज्ञतालाई सम्मान गर्दै किनारा लगाउनेछ भन्ने हाम्रो विश्वास छ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै यस अगाडि हामीसित भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र प्रधानमन्त्रीले हामीसँग गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्न पनि स्मरण गराउँछौँ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्