‘सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनले निर्वाचन बिथोले’– अनेरास्ववियु



काठमाडौँ। 

नेकपा एमाले निकट अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन निकट विद्यार्थी सङ्गठनका पक्षमा जनमत नआउने देखिए पछि १४ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलेको आरोप लगाएको छ । सङ्गठनका अध्यक्ष समिक बडालले शनिवार विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन गर्न र सत्ता पक्षकै हस्तक्षेप रोक्न माग गर्नु भएको छ ।

अध्यक्ष समिक बडालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘अनेरास्ववियुको पक्षमा पक्षमा विद्यार्थीहरुको माहोल देखेर अत्तालिएका सत्ताधारी दलका छाँया संगठनहरुलाई जिताउने प्रपञ्च पुरा नहुँदा निर्वाचन भाँड्ने नाङ्गो नाचमा प्रहरी प्रशासन सरकारको मतियार बनेर प्रस्तुत भएको छ । सरकारको यो लोकतन्त्र विरोधी हर्कतको घोर भत्र्सना गर्दछौं साथै यथाशीघ्र क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं । निर्वाचन विरोधी सत्ता गठबन्धन र गठबन्धन निकट विद्यार्थी संगठनहरुको गैर जिम्मेवारपन विरुद्ध विद्यार्थी आन्दोलनको बिरासत स्ववियु जोगाउन सडक संघर्षमा उत्रन सम्पूर्ण न्यायप्रेमी विद्यार्थीहरुलाई हार्दिक अपिल गर्न चाहन्छौ ।’

अध्यक्ष बडालले विश्वविद्यालयको स्ववियु निर्वाचन गर्न बाँकी आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा निर्वाचन सम्पन्न गर्न सहजिकरण गर्ने उद्देश्यले अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूको नेतृत्वले छलफल गरी विश्वविद्यालयका निर्वाचन निर्देशिका बमोजिम निर्वाचन सम्पन्न गर्न आवश्यक सहजिकरण गरी अघि बढ्ने सहमति विपरित सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनहरुले चैत्र ११ गते नेपाल कमर्स क्याम्पसमा तोकिएको स्ववियु निर्वाचन सत्ताको चरम दुरुपयोग गर्दै एकाएक निर्वाचन समिति प्रमुख बेपत्ता बनाए र क्याम्पस प्रशासनले नयाँ निर्वाचन समिति प्रमुख तोक्दा पनि निर्वाचन हुन नसकेको बताएको छ । साथै उम्मेदवारबाटै मतपत्र च्यात्ने, अस्कल क्याम्पसमा तोकिएको निर्वाचन सहमतिको मसी सुक्न नपाउदै निर्वाचन प्रतिनिधि नपठाएर भाँड्ने षड्यन्त्र गरिएको छ । त्यस्तै शनिवार आर.आर. क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका भाँड्न निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेर सत्ताधारी विद्यार्थी संगठनहरु अनेकौं बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा लागिरहेको पुष्टी भएको अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन गराउन सुरक्षा प्रदान गराउनुपर्ने निकायबाट यथेष्ट सहयोग नहुँदा १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुन नदिन सत्ताधारीहरु उद्दलित रहेको पुष्टि भएकाले तत्काल निर्वाचन गराउन सम्वन्धित निकायलाई अनेरास्ववियुले माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसहरु मध्ये ४८ आंगिक क्याम्पस र करिब ३ सय सामुदायिक क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । पाटन संयुक्त क्याम्पसमा मतदान सम्पन्न भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्