काठमाडौँ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार सशस्त्र प्रहरी बलको हलचोकस्थित प्रधान कार्यालयको निरीक्षण गर्नु भएको छ । मंगलबार दिउँसो निरीक्षण क्रममा त्यहाँ पुग्नु भएका गृहमन्त्री श्रेष्ठले वरिष्ठ अधिकृतसँग छलफल गर्नुभई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
।
गृहमन्त्री श्रेष्ठले गृहमन्त्री श्रेष्ठले त्यसक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण, सार्वजनिक सम्पत्तीको संरक्षण, तथा कानूनको कार्यान्वयन गर्ने क्रममा सम्पादन गरिएका समग्र गतिविधिहरु समेटेर गरिएको प्रस्तुतीकरणले संगठनको बारेमा थप प्रष्ट भएको बताउनुभयो ।
उहाँले शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसात गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्ने कार्य सराहनीय रहेको बताउनुहुँदै राज्यले सुम्पिएका जिम्मेवारीहरु साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिहरुमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको समेत बताउनुभयो ।
उहाँले प्रधान कार्यालयमा देशभरमा कार्यरत वरिष्ठ अधिकृतहरु भेला भई संगठनलाई कसरी गतिशिल र सक्षम बनाउन सकिन्छ भनि छलफल गर्न गोष्ठी आयोजना गर्ने कार्य प्रशंसनिय रहेको बताउनुहुँदै स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझ मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपालसंग सम्बन्धित कानूनी विषयहरु (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताउनुहुँदै संगठनलाई नेपाल सरकारले तोकेको जिम्मेवारी अनुरुपको कार्य प्रभावकारी ढंगले सम्पादन गर्नका लागि मौजुदा दरबन्दी संरचनाको पुनर्संरचना गर्ने गरी संगठन तथा व्यवस्थापन गर्ने कार्यलाई अगाडी बढाउन गृहमन्त्रालयको आवश्यक पहलकदमीमा कुनै कमी नहुने बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरीले न्यून सेवा सुविधा र अपर्याप्त स्रोत साधनका बाबजुद कतिपय ठाउँमा भाडाको घर, अस्थाई संरचनामा बसेर, कतिपय ठाउँमा जीर्ण अवस्थाका आवास तथा भवनहरुबाट नागरिकलाई सेवा र सीमाको सुरक्षा गरिरहेको अवस्था विद्यमान रहेको हुँदा यस्ता समस्याहरु समाधान गरी भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृहमन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरुको स्थापना, मौजूदा बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनु पर्ने उल्लेख गर्नुहुँदै हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीको लागि मापदण्ड अनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवासुविधामा उचित ध्यान पुर्याईने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले विपद् प्रतिकार्य, राहत तथा उद्धारमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुहुँदै विपद् उद्धार केन्द्रहरूको विस्तार, विपद् उद्धार सामाग्रीको नियमित उपलब्धता र विपद् व्यवस्थापनमा संलग्न सशस्त्र प्रहरीको क्षमता विकासका लागि कार्ययोजना बनाई उचित स्रोतसाधनको प्रबन्धसहित ठोस कार्य गर्नका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा आफैमा जटिल, संवेदनशिल र चुनौतीपूर्ण विषय भएको बताउनुहुँदै अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयका साथ राज्य प्रदत्त कार्यादेशहरुलाई कुशलतापूर्वक बहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश, निर्देशनहरुलाई अक्षरशः पालना गरी ईमान्दारिताकासाथ परिचालन भईरहेको बताउनुभयो ।
कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, गृहमन्त्रालयका सह–सचिव तथा प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी, तालिम शिक्षालयका समादेशकहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया