सीमाबाटै करोडौंको तस्करी- तस्करीको १५ सय ट्रक कपडा कहाँ छ ?

भन्सारमा हुन्छ अझै ठूलो छली

0
Shares

–भन्सार छली गरी करोडौंको तस्करी
–राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर
–‘माथिको निर्देशन’ले समस्या
–ठूला तस्करी रोकिएको महानिर्देशकको दाबी

काठमाडौं । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन सकेको छैन ।

तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासा बढेका छन् । विभाग र सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सीमाक्षेत्रमा कपडा, चिनी, रड, सिमेन्ट, खाद्यान्न, हार्डवेयरजस्ता सामानहरूको तस्करी हुने क्रम नरोकिएको हो ।

राजस्व अनुसन्धान विभागमा राजनीतिक हस्तक्षेप भई विभागको नेतृत्व अस्थिर बन्न पुग्दा त्यसको फाइदा तस्करहरूले उठाउने गरेको सरकारी अधिकारीहरूकै दाबी छ । राजस्व अनुसन्धान विभागमा एक वर्षभित्रै ४ जनासम्म महानिर्देशकहरू फेरिएका छन् ।

राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करहरूले मौकाको फाइदा उठाउँदै तस्करीलाई व्यापक पारेका हुन् । राजस्व प्रशासन अस्थिर भएसँगै पछिल्ला केही समयदेखि सीमानाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर देखिँदै आएको छ ।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार पछिल्ला दिनमा विभागमा नै ठूलाठूला तस्करीको आरोप लागेका व्यक्तिहरूले विभिन्न बहानामा ‘माथिको आदेश’ भन्दै महानिर्देशकलगायतका उच्च अधिकारीसँगको भेटघाटलाई तीव्र पारिरहेको बताइन्छ । फाइल खडा गरेर अनुसन्धान भइरहेको विषयका सम्बन्धित व्यक्तिलाई महानिर्देशकले कार्यालयमा नै भेट्नुलाई आचारसंहिताविपरीत मानिन्छ । यस्तो कार्यले थप शंका उब्जाएको छ । ‘अनुसन्धान भइरहँदा आरोपितलाई भेट्ने होइन बयान लिने हो’ –विभागका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने ।

केही समयअघि सीमा नाकाबाटै १५ सय ट्रक कपडा तस्करी भएको खुलासा भएको थियो । तर, त्यस प्रकारको तस्करी अघिल्लो वर्ष भएको भन्दै विभागका पदाधिकारीहरू सो तस्करीका बारेमा अनुसन्धान गर्न हिचकिचाइरहेको बताइन्छ । विभाग स्रोतका अनुसार विभागले सो तस्करी प्रकरणलाई छानबिन गर्न खोजे पनि बालुवाटारको दबाबमा तस्करी प्रकरणको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताइन्छ ।

विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले सो कपडा तस्करीबारे अनुसन्धान गर्ने क्रममा विभागमाथि कुनै प्रकारको राजनीतिक हस्तक्षेप नआएको दाबी गर्नुभयो । सापकोटाले १५ सय ट्रक तस्करी भएको एक वर्षअघिको घटनालाई पनि प्राथमिकता दिएर छानबिन थालिएको बताउनुभयो । ‘सो प्रकरणमा फाइल नै खडा गरेर छानबिनलाई अघि बढाएका छांै । राजनीतिक दबाब आएको भन्नेमा सत्यता छैन’ –महानिर्देशक सापकोटाले नेपाल समाचारपत्रसँग भन्नुभयो । तर, विभागका केही अधिकारीहरूले भने ‘माथिको निर्देशन’मा सो प्रकरणलाई सामसुम पार्न खोजिएको बताएका छन् ।

महानिर्देशक सापकोटाले सीमा क्षेत्रमा हुने तस्करी रोक्न सशस्त्र गस्ती परिचालनलाई व्यापक पारिएको दाबी गर्नुभयो । ‘कसैले व्यक्तिगत सामान ल्याउँदा त्यस्तो भएको होला तर ठूला परिमाणका तस्करी भएको भन्ने कुरा पूर्णत गलत हो’ –महानिर्देशक सापकोटाले नेपाल समाचारपत्रसँग भन्नुभयो । महानिर्देशक सापकोटाका अनुसार सीमा क्षेत्रमा हुने तस्करी रोक्ने उद्देश्यले सोमबार मात्रै राजस्व चुहावट नियन्त्रण केन्द्रीय समितिको बैठक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको सो बैठकले सीमा नाकामा हुने चोरी तस्करी रोक्न कडा कदम चाल्ने निर्णय गरेको महानिर्देशक सापकोटाले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने ठूला खालका तस्करी रोकिएको सापकोटाले दाबी गर्नुभयो ।

विभिन्न सामानहरू ठूलो परिमाणमा तस्करी गरी काठमाडौं ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन । स्रोतका अनुसार नवलपरासी, सिराहा, सप्तरी, वीरगञ्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामानहरू भित्रिरहेको बताइन्छ । यसै गरी तस्करहरूले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामानहरू ओसारपसार गरी सीमाक्षेत्र नजिकैको गाउँमा थुपार्ने र त्यहीबाट सानोसानो परिमाणमा मालबाहक ट्रकबाट ओसारपसार गर्ने गरेका छन् ।

भन्सारमा हुन्छ अझै ठूलो छली

सीमानाकामा भन्दा पनि भन्सारमा बढी छली हुने गरेको सरकारी अधिकारीहरूकै दाबी छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले पनि भन्सारमा हुने न्यून मूल्यांकन, न्यून बिजकीकरण, वर्गीकरण गलत गर्ने तथा नापतौल छलेर सामान ल्याइँदा राज्यकोषमा आउने करोडौं रुपियाँ गुम्ने अवस्था रहेको बताउनुभयो । उहाँले त्यस्तो कार्य रोक्न सबै सरकारी निकाय समन्वयात्मक किसिमले परिचालित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सीमा क्षेत्रमा गोदामका कारण समस्या

भन्सार नाका नजिकै व्यापारीहरूले बनाएका ठूलाठूला गोदामका कारण तस्करी नियन्त्रणमा समस्या पर्ने गरेको सरकारकै अधिकारीहरूको भनाइ छ । व्यापारीले विभिन्न सामान भन्सार छलेर आफ्नै नजिकको गोदाममा राख्ने र त्यहाँबाट यातायातका साधनमार्फत् सामानहरू अन्यत्र पठाउने गर्दा पनि भन्सार छली हुने क्रम बढेको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक सापकोटाले पनि भन्सार क्षेत्रमा खोलिएका गोदामहरूले समस्या सिर्जना गरेको बताउनुभयो । गोदाममार्फत् हुने तस्करी रोक्न आवश्यक उपायको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो ।