शिक्षक पेसाप्रति रुचि बढ्दै – माविमा ५२ र निमाविमा ६५ गुणा बढी आवेदन



–माविमा माग ७१६, आवेदन ३७,२१२, निमाविमा माग ११५६, आवेदन ७५,७७१
–प्राविको ६,०१३ पदका लागि आज विज्ञापन
–माविको परीक्षा चैत १८ मा, निमाविको वैशाख १०
–उपनिर्वाचनका कारण निमाविको परीक्षा स्थगित हुने सम्भावना

काठमाडौं । माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि रिक्त ७ सय १६ रिक्त पदका लागि आयोगले मागेको आवेदनमा झण्डै ५२ गुणाभन्दा बढी आवेदन परेको छ । आयोगले मावि तृतीय तहका लागि गत पुस २५ गते खोलेको विज्ञापनमा ३७ हजार २ सय १२ जनाले आवेदन दिएका थिए ।

यस्तै, निम्न माध्यमिक विद्यालय शिक्षकका लागि ६५ गुणा बढीले आवेदन दिएका छन् । निमावि तहमा १ हजार १ सय ५६ पदका लागि ७५ हजार ७ सय ७१ जनाले आवेदन दिएका छन् । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुवै तहको आवेदन दिने समय समाप्त भइसकेको जानकारी दिँदै स्थायी शिक्षकका लागि आवेदन दिनेको संख्या ह्वात्तै बढेको बताउनुभयो । उहाँका अनुसार मावि तहको अंग्रेजीमा ९ हजार ४ सय २३, नेपालीमा ८ हजार ८ सय ४७, गणितमा ५ हजार २ सय ४८, विज्ञानमा ५ हजार १ सय ३०, सामाजिक अध्ययनमा ५ हजार ९ सय ९४, कार्यालय सञ्चालन तथा लेखामा १ हजार ३ सय ४८, अर्थशास्त्रमा ४ सय ८१, कम्प्युटर विज्ञानमा ९८, शिक्षामा १ सय ४२, स्वास्थ्य शिक्षा २ सय ९, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, शुक्ल यजुर्वेदमा २ जना र संस्कृत साहित्यमा ५ जना गरी ३७ हजार २ सय १२ जनाले आवेदन दिएका छन् ।

आयोगले नेपालीमा १ सय ११, अंग्रेजीमा ८४, गणितमा २ सय ८, विज्ञानमा १ सय ९१, सामाजिक अध्ययनमा ५४, अर्थशास्त्रमा ८, कार्यालय सञ्चालन तथा लेखा विषयका लागि १५ जना शिक्षकका लागि आवेदन माग गरेको थियो । मावि तहको परीक्षा यही चैत १८ गते हँुदैछ । आयोगले निमावि तहको परीक्षा वैशाख १० गतेलाई तोेकेको छ । वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं–२, बारा–२ र तनहँु–१को उपनिर्वाचन हुने भएकोले सो तहको परीक्षा स्थगित हुने प्रबल सम्भावना रहेको छ । यद्यपि, सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म परीक्षा सार्ने विषयमा कुनै निर्णय भएको छैन ।

आयोगले गत माघ २७ गते निमावि तृतीय तहको शिक्षकको विज्ञापन आह्वान गरेको थियो । आयोगले नेपाली विषयका लागि ६५, अंग्रेजीका लागि १ सय १६, गणितका लागि १ सय ४४, विज्ञानका लागि २ सय ८२, सामाजिकका लागि ८९, शुक्लयजुर्वेदका लागि १, गणित विज्ञानका लागि ३ सय ५१, संस्कृत व्याकरण ३, संस्कृत भाषाका लागि ४, संस्कृत कर्मकाण्डका लागि १ दरबन्दीका लागि विज्ञापन गरेको थियो । आयोगले आवेदन दिनेको संख्या ह्वात्तै बढेको जनाएको छ ।

यसैबीच आयोगले प्राविको ६ हजार १३ दरबन्दीका लागि आज बिहीबार विज्ञापन गर्ने भएको छ । शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले देशैभरका रिक्त प्रावि तहको स्थायी शिक्षकको दरबन्दी उपलब्ध गराएपछि सोको आधारमा विज्ञापन गर्न लागेको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आज प्रावि तहको विज्ञापन हुने जानकारी दिनुभयो ।

आयोगले गत वर्ष माग गरेको १३ हजार २ सय ९७ दरबन्दीमध्ये सिफारिस हुन नसकेका २ हजार ९ सय ४४ पदसहित विज्ञापन गर्न लागेको हो । आयोगले गत वर्षको विज्ञापनमा माग गरिएभन्दा कम १० हजार ३ सय ५३ जना शिक्षकलाई मात्र स्थायी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्