रास्वपा पनि गृहकै दाबेदार



काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा फर्कने संकेत गरेको छ । उसले साविककै अवस्थामा उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा सहभागी हुनसक्ने जनाएको छ ।

गठबन्धनमा सामेल नभएको रास्वपाले चैत ६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । एमाले नेतृत्वको सात दलीय गठबन्धनमा हुँदा गृह मन्त्रालय नपाएर सरकारबाट बाहिरिएको रास्वपा अहिले सरकारमा जाने पक्षमा रहेको छ । नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएसँगै प्रधानमन्त्री प्रचण्डले पुनः गृह मन्त्रालय नदिने भनेपछि ४२ दिनमै रास्वपा सरकारबाट बाहिरिएको थियो ।

त्यसबेला रास्वपा उपप्रधानसहित गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री लिएर सहभागी भएको थियो । अहिले प्रधानमन्त्री प्रचण्डको प्रारम्भिक प्रस्तावमा सरकारमा सहभागी भएको अवस्थामा रास्वपालाई तीन मन्त्रालय दिन सकिने नेताहरूले बताएका छन् ।

यद्यपि, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि अहिलेसम्म प्रधानमन्त्रीको तर्फबाट रास्वपालाई सरकारमा सहभागी हुने प्रस्ताव नआएको जानकारी दिँदै रास्वापाका प्रवक्ता मुकुल ढकालले भन्नुभयो– ‘हामीलाई पुस १० गते जुन हैसियतमा सरकारमा सामेल गराइएको थियो अहिले पनि साविकको स्थिति भयो भने हामी सरकारमा जाने कुरा सोच्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्