चितवनमा उपनिर्वाचनका लागि दलहरूलाई निर्वाचन चिह्न प्रदान



काठमाडौं । आगामी वर्ष वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

उपनिर्वाचनका लागि १८ वटा दलहरू दर्ता भएका छन् । प्र्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

सोही दफाको उपदफा (७) बमोजिम उप–निर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा क्रमसंख्या निर्धारण गरिएको हो । त्यसै गरी प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

त्यस्तै, नेपालको संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने र दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत आयोगबाट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्