चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल

तनहुँको ब्यासदेखि शीतल निवाससम्म



काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभयो । संघीय संसद्मा बिहीबार भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभारका साथ पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएको हो ।

पौडेलका प्रतिष्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो । नेम्बाङको भन्दा पौडेलको मतभार १८ हजार २ सय ८४ ले बढी छ । पौडेलको पक्षमा कुल खसेको ४९ हजार ५सय ९१ मतभारको ६८ दशमलब २ प्रतिशत मत प्राप्त भएको थियो । उहाँका प्रतिद्वन्द्वी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले १५ हजार ५ सय १८ मतभार पाउनुभयो ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३ सय १३ सांसदले मतदान गरेका थिए । जसको कुल मतभार २४ हजार ७ सय २७ रहेको थियो । प्रदेशतर्फ ५ सय १८ सांसदले मतदान गरेका थिए । प्रदेशतर्फको मतभार २४ हजार ८ सय ६४ रहेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल तटस्थ रहनुभएको थियो । त्यसै गरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका लागि विदेश हुनुहुन्छ भने एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी हुनुभएन । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै, मधेश प्रदेशकी जसपा सांसद बिन्दु यादव अनुस्थित रहनुभयो भने नेपाली कांग्रेसका संघीय सांसद टेकबहादुर र रास्वपाका सांसद रवी लामिछानेको संसद पद खारेज भएको तथा जसपाका सांसद सहनाज रहमानको निधन भएकोले ३ मतको २ सय ३७ मतभार घटेको थियो ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा, नेसपा र आम जनता पार्टीले खुलेर समर्थन गरेका थिए ।

बिहीबार मतदान अघि बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले पनि पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेपछि उहाँको पक्षमा दुई तिहाइभन्दा बढी मत खसेको हो । अर्का उम्मेदवार नेम्बाङलाई भने एमालेको र केही क्रस मत परेको निर्वाचन परिणामले देखाएको छ ।

आम निर्वाचनमा भएको कांग्रेससहितको गठबन्धन गत पुस १० मा टुटाएर एमालेसहितको सात दलीय गठबन्धन गरी सरकारको नेतृत्व गर्नुभएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन १० मा पुरानै गठबन्धनमा फर्की कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गरेर नयाँ समीकरणमा जाने निर्णय गरेसँगै पौडेललाई राष्ट्रपति बन्न सहज बाटो खुलेको हो ।

तनहुँको ब्यासदेखि शीतल निवाससम्म

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मिएका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुखको जिम्मेवारीमा पुग्नुभएको छ । मध्यम वर्र्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गर्नुभएको छ । नेपाली कांग्रेसमा लागेर छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता पौडेल आजैदेखि संवैधानिक राष्ट्रप्रमुखको रूपमा सबैको साझा व्यक्ति भएर काम गर्ने जिम्मेवारीमा आइपुग्नुभएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिक्रिया दिनुभयो ।

पौडेलले ६ पटक सांसद, ५ पटक मन्त्री र एक पटक प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँले २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसद्मा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा उत्रिए पनि पराजित हुनुभएको थियो भने २०७४ को संसदीय निर्वाचनमा तनहुँ–२ बाट पराजित हुनुभएको थियो । यसपटक संसद्मा सहभागी १३ दलमध्ये नौ दलको समर्थनमा गठबन्धनले साझा उम्मेदवार बनाएपछि पौडेल देशको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति बन्न सफल हुनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेर राजनीतिक यात्रा शुरू गर्नुभएको थियो । २०१७ सालमा राजाले संसद् भङ्ग गरी बीपीलाई जेल हालेको विरोधमा प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएदेखि उहाँ सक्रिय राजनीतिक कार्यकर्ताका रूपमा अघि बढ्नुभयो । २०२७ सालमा नेविसंघको संस्थापक सदस्य बन्नुभएका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय हुनुभयो ।

२०४३ सालमा केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य हुनुभएका पौडेल २०६२ सालमा कांग्रेसको महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसम्म बन्नुभएको थियो ।

त्यस्तै, २०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उहाँले तनहुँबाट निरन्तर जित हासिल गर्दै आउनुभएको थियो । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता भएर प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहनुभएको थियो । उहाँ २०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बन्नुभएको थियो भने २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचनारसञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

२०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि उहाँ शान्ति तथा पुनःनिर्माण मन्त्रीसमेत बन्नुभयो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ साल फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास प्रवेश गर्दै हुनुहुन्छ । पौडेलको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी आइपुगेको छ । संविधानको कसीमा बसेर विवादरहित राष्ट्रपतिको भूमिका निर्वाह गरी बिदा हुने चुनौती पौडेलमाथि छ । गणतन्त्र नेपालको राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भनेर सबैले देख्ने गरी काम गर्ने नव निर्वाचित राष्ट्रपति पौडेलले प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्