विद्यालयहरुमा राप्रपाका कार्यकर्ताहरुलाई अध्यक्ष बनाएको शिक्षकहरुको आरोप 



भद्रपुर । 

स्थानीय तहको निर्वाचनमा दुईतिहाई बहुमत जितेको झापाको एक पालिकाले  राप्रपाले सबै विद्यालयहरुमा आफ्ना कार्यकर्ताहरुलाई अध्यक्ष बनाएको शिक्षकहरुले आरोप लगाएका छन् । झापाको हल्दीबारीमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तालाइ बनाएको उनीहरुको भनाइ छ  । पालिका भित्र १७ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।

गाउँपालिकाले स्थानीय कार्यविधि नै बनाएर विद्यालय व्यवस्थापन समितिलाई आफ्ना कार्यकर्ताको भर्तीकेन्द्र बनाएको पुष्टि भएको हो । विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेलामा गाउँपालिका कार्यालयले दुईजनालाई मनोनित गरेर पठाउने प्रावधान छ । बुद्धिजीवि र समाजसेवीको नाममा मनोनित गरिएकाहरु राप्रपाकै कार्यकर्ता रहेका छन् । अभिभावक भेलाबाट अन्य ४ जना छानिने गरेका छन् । गाउँपालिकाले पठाएका दुई जनामध्ये एक जना अध्यक्ष बन्ने गरेका छन् भने अभिभावक भेलाबाट छानिने चार जना सदस्यमा मात्र बस्न पाउने कार्यविधिमा उल्लेख छ । गाउँपालिकाको यस किसिमको शिक्षा ऐन र कार्यविधिले आफूहरूलाई निरुत्साहित पारेको पञ्चायत माविका प्रधानाध्यापक कृष्णप्रसाद वनले बताउनुभयो  ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षदेखि लिएर शिक्षक अभिभावक सङ्घ गठन गर्दासमेत गाउँपालिकाले राजनीतिक हस्तक्षेप गर्ने गरेको उहाँको आरोप छ । त्यस्तै जनता प्राथमिक विद्यालयका प्रअ हेम राजवंशीले पनि यसरी गाउँपालिकाले विद्यालयमा हस्तक्षेप गर्नु उचित नभएको बताउनुभयो । शिक्षकहरुले बिनादवाव र प्रभावमा काम गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।  गाउँपालिकाको अघिल्लो कार्यकालमै सङ्घीय शिक्षा ऐनसँग बाझिने ऐन बनाएको बताइएको छ । त्यस कार्यकालमा जनप्रतिनिधिहरुलाई अध्यक्ष बनाएर पठाउने गरिएको थियो ।

पालिकाको कार्यविधि अनुरुप अध्यक्ष पठाइएको शिक्षा शाखा प्रमुख जनक कुमारी राईले बताउनुभयो । अध्यक्षबाट नाम आएकोले समितिले अनुमोदन गरेको उहाँको भनाइ छ । अनुमोदन गरिएका अध्यक्षहरु कुन पार्टीको हो भन्ने बारे थाहा नभएको उहाँले बताउनुभयो । यसैबिच सरस्वती आधारभूत विद्यालय हल्दीबारी–२ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी दाहाललाई हटाउन माग गर्दै स्थानीय अभिभावकहरुले हल्दीबारी गाउँपालिका अध्यक्ष र हल्दीबारी गाउँ शिक्षा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु खगेन राजवंशी, खिनादेवी घिमिरे, सन्जु राजवंशी, मिना कालिकोटे, रचना कुलुङ (२ नं वडा सदस्य), शिव थारु र सनिका राईसहित १२६ जना विद्यालयका अभिभावकको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्