डिपोमा भेटिएको २७ क्विन्टल अमिलो चामल नष्ट



सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर डिपोमा रहेको २७ क्विन्टल ९० केजी अमिलो चामल भेटिएपछि नष्ट गरिएको छ ।

श्रीनगर खाद्य संस्थानको डिपोमा गत २ वर्षदेखि थन्किएर राखेको २७ क्विन्टल ९० केजी चामल अमिलो भेटिएपछि जिल्ला खाद्य संस्थान हुम्लाले तत्काल गाडेर नष्ट गरेको हो ।

दुर्गम जिल्लाका स्थानीयमा आफ्नो उत्पादनले जम्मा वर्षको तीन महिना पनि खान पुग्दैन तर यहाँ २ वर्षदेखि गोदाममा चामल कुहिएर रहेको छ । महिनौंसम्म कर्मचारी नबस्ने, गोदाममा आवश्यक मात्रामा खाद्यान्न मौज्दात भए नभएको यकिन पनि नहुने दुर्गमको समस्या नै हो ।

चामलको गुणस्तर चेकजाँच गर्दा चामल बिग्रिएको पत्ता लागेको थियो । सो अमिलो चामललाई जिल्ला खाद्य संस्थानका नवीन आचार्य, श्रीनगरमा रहेको प्रहरी चौकी, स्थानीय जनप्रतिनिधिको रोहवरमा श्रीनगर खाद्य डिपो नजिकै खाडल खनेर गाडिएको छ ।

त्यति बेलैदेखि अमिलो चामल गाड्न खोजिए पनि केन्द्रबाट गाड्ने आदेश नआएपछि ढिलाइ भएको र यति बेला गाड्ने आदेश आएकाले गाडिएको जिल्ला खाद्य संस्थानका कर्मचारी नवीनकुमार आचार्यले बताउनुभयो ।

सुरक्षित भण्डारणको अभावमा कुहिएको अमिलो चामल मानवका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गरिएको उहाँको भनाइ छ । अधिकांश बोराको चामल कुहिएर डल्लो परेको, सडेको, कालो भएको र गन्हाउने भएको स्थानीयले बताएका छन् । उक्त चामल ठेकेदार नन्द महतारा र टोपनारायण चालिसेले ढुवानी गरी ल्याइएको करिब १ सय क्विन्टल चामल कुहिएर थन्क्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्