सांसदहरूलाई बुधबारसम्ममा काठमाडौं आइपुग्न निर्देशन



काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान ११ बजेसम्म सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएकोे नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यस्तै, बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । बैठकमा बिहीबार हुने राष्ट्रपति निर्वाचनमा व्यवस्थापनका साथै गठबन्धनलाई थप विस्तार गर्ने विषयमा समेत छलफल प्रारम्भ भएको नेताहरूले बताएका छन् । बैठकपछि प्रतिक्रिया दिने क्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्ने बताउनुभयो । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी सम्मिलित हुँदा गठबन्धनमा दलको संख्या नौ पुगेको जिकिर गर्दै भुषालले भन्नुभयो– ‘गठबन्धन विस्तार गर्ने छलफलको प्रारम्भ भएको छ । गठबन्धन ८ बाट १० पुग्ने सम्भावना छ ।’

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्