मौन अवधिमा निर्वाचनको प्रचारप्रसार निषेध



काठमाडौं । निर्वाचन आयोगले मंगलबारदेखि राष्ट्रपतिको निर्वाचनको प्रचारप्रसारमा निषेध गर्दै मौन अवधि लगाएको छ । भोलि बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ बमोजिम प्रचारप्रसारमा निषेध गरिएको हो । राष्ट्रपतिको निर्वाचनको लागि बिहीबार १० बजेदेखि ३ बजेसम्म मतदान हुँदै छ ।

राष्ट्रपति निर्वाचनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम सो अवधिसम्म राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध निकायले निर्वाचनको प्रचारप्रसार गर्न हुँदैन । त्यसै गरी निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार र मत माग्न पाइँदैन ।

त्यसै गरी एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरू प्रसार जस्ता कार्य गर्न नहुने पनि आयोगले जनाएको छ ।

‘राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न सबैलाई हार्दिक आग्रह गर्दछ ।’ प्रवक्ता पौडेलले भन्नुभयो ।

निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्