नेपालको राजनीति भड्किलो र चुनाव खर्चिलो भयो : नेता पाण्डे



रामेछाप ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको राजनीति भड्किलो र चुनाव खर्चिलो भएको बताउनु भएको छ । नेकपा एमाले रामेछापले मङ्गलवार रामेछापको खाँडादेवी गाउँपालिकामा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षणमूलक बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले पैसा होइन विचारलाई प्रमुखतामा राखेर राजनीति गर्नु पर्नेमा बताउनु भयो ।

कार्यक्रम बोल्दै पाण्डेले चुनावी मोर्चामा रहेको मानिसहरूको मात्र नभएर पार्टीको समस्या भएको प्रस्ट पार्नुभयो । यस वर्ष विदेशको पैसा पनि नआउने उहाँले बताउनुभयो । यस वर्ष ५८ अरब विदेशको अनुदान आउने भनेकोमा जम्मा ७ अर्ब रुपैँयमात्र आएको उहाँले बताउनुभयो । ‘अनुदानको मात्र घट्दो छ, ऋण बढ्दो छ, त्यो पनि भने जति आएको छैन’, उहाँले भन्नुभयो ।

देशको आर्थिक अवस्था निक्कै कमजोर भएको बताउँदै उहाँले देशको आर्थिक अवस्था अझ बिग्रने सङ्केत देखिएको बताउनुभयो । राजश्व सङ्कलन लक्ष अनुसार नभएको र बजेटमा नछुटाइएको क्षेत्रमा खर्च बढेको कारण आर्थिक अवस्था थप बिग्रिँदै गएको पाण्डेको भनाइ छ ।

आर्थिक सङ्कटको कारण केन्द्र सरकारले स्थानीय तहलाई पठाउने रकम कटौती गर्न लागेको उहाँले सुनाउनुभयो । त्यति मात्र होइन टेन्डर नभएका योजनालाई टेन्डरमा नलगाउन सरकारले निर्देशन दिइसकेको उहाँले बताउनुभयो । ‘कुनै पनि विकास निर्माणको काम नहुने परिस्थिति छ, अवस्था यस्तो छ’, पाण्डेले भन्नुभयो ।

उपाध्यक्ष पाण्डेले देशमा देखिएको समस्यालाई हेरेर योजना बनाउनु पर्ने बताउनुभयो । त्यस अनुसार योजना बनाउन नसके स्थानीय सरकार पनि सङ्कटमा पर्ने पाण्डेले प्रस्ट पार्नुभयो ।

पाण्डेले राजनीति बुझ्नको लागि अर्थशास्त्र बुझ्नु पर्ने बताउनुभयो । अर्थशास्त्र नबुझ्ने मान्छेले अब राजनीति गर्न नसक्ने उहाँले प्रस्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्