प्रदेश नामकरणमा पञ्चायतकै पुनरावृत्ति



प्रदेशको संरचनाले आकार लिएको पाँच वर्ष बितिसक्दा प्रदेश नं १ को नामकरण नभएको स्थितिमा कोसी प्रदेश भनी नामकरण गर्नुलाई त्यसो त उपलब्धिको रूपमा लिन नसकिने होइन । तर, सभ्यता, संस्कृति, ऐतिहासिकता सम्बोधन हुने गरी प्रदेशको नामकरण गर्ने क्रममा कहीकतै सम्बोधन हुने मागविपरीत पञ्चायतकालमा राखिएका अञ्चलकै नाउबाट प्रदेशको नाउ राखियो ।

तीस वर्षसम्म चलेको पञ्चायती व्यवस्थाको विरोध गर्ने राजनीतिक दल र तिनका नेताहरू आज पनि त्यतिबेलाको सोच र बुझाइबाट मुक्त हुन नसकेको देखिन्छ । पञ्चायतको झझल्को दिने गरी कोसी नदीको नाउमा प्रदेशको नामकरण गर्नु भनेको वस्तुतः संघीयतालाई पञ्चायतकालमा गरिएको विकास क्षेत्रको अवधारणा वरिपरि नै सीमित तुल्याउने उपक्रमकै एउटा कदम हो । यस अर्थमा प्रदेशको नाम चयनले देखाएको अरुचिले एक हिसाबले संघीयताको मर्ममाथि ठाडो प्रहार गरेको छ । यो प्रवृतिले संघीयताको खारेज गर्नेहरूलाई प्रकारान्तरले बल पु¥याउने निश्चित छ ।

नेपाली राज्य एकात्मकबाट संघात्मक रूपान्तरण हुनुमा नेपाली समाजको विविधता, व्यवस्थापन गर्ने, पूर्ण लोकतन्त्र र तेस्रो विकासको लक्ष्य राखिएको थियो । पञ्चायतकालमा भूगोलका आधारमा जिल्ला, अञ्चल र विकासको क्षेत्रको नाम राख्दा जनतालाई केन्द्रबिन्दु राखिएन ।

भूगोलको महिमामण्डन गर्नुको अभीष्ट जनताको नैसर्गिक अधिकारमा बन्देज लगाएर राष्ट्रवादलाई स्थापित गर्नको लागि थियो । मधेस प्रदेशबाहेक पाँचवटा प्रदेशको नामकरण गरी पञ्चायतकालकै पुनरावृति देखिएको छ । संघीयता कार्यान्वयन गर्ने तहसम्म आउँदा एकपछि अर्को प्रहार संविधान जारी गर्ने दलहरूबाट भइरहेको अवस्थामा जातीय पहिचान, भाषा, सभ्यताको हिसाबले अत्यन्त संवेदनशील प्रदेश भएको हिसाबले नामकरणमार्फत् केही हदसम्म सम्बोधन गर्ने झिनो अपेक्षा गरिएको थियो । परापूर्वकालदेखि किराँत र राजा पृथ्वीनारायण शाहले नेपाल आक्रमण गर्दा किपट गर्दा उल्लेख गरिएको लिम्बुवान भनिएको क्षेत्रलाई समेटिएर बनाएको प्रदेश नं १ मा निषेधाज्ञा जारी गरी प्रदेशको नामकरण गरियो ।

के यस्तो चरित्र लोकतान्त्रिक खालको छ ? के यसले संघीयताको लक्ष्य पूरा गर्न सहयोगी होला त ? यही विषयलाई लिएर सशस्त्र विद्रोह गरेको माओवादी केन्द्रले समेत कोसी नामकरणको पक्षमा मतदान गर्न पुग्नु जनतालाई सरासर धोखा दिनु हो ।

समुदाय र तिनका भाषा, संस्कृति, सभ्यता र इतिहास नेपालकै गौरव हुन् । तर, तिनका नाउमा प्रदेशको नामकरण गर्न नहुने कारण के छ ? हो, प्रदेश नं १ को सभ्यता, इतिहासलाई जोडेर मात्र नाम राख्दा कसैले अपनत्व महसुस गर्न नसक्ने हो भने कोसीसँगै जोडेर मध्यमार्गी उपाय अपनाउन सकिन्थ्यो, तर त्यतातिर राजनीतिक दलहरू जान नै चाहेनन् ।संविधान निर्माणका क्रममा चर्चित पहिचान भेटिने द्वन्द्व मेटिने नेपाली कांग्रेसको नारा यहाँ कसरी चरितार्थ हुन सकेन ? खोलानाला, पहाड पर्वत र धार्मिक तीर्थस्थलको आधारमा नाम राख्दा ती नाम साझा नाम हुने र भाषा, संस्कृति र समुदायको नाम राख्दा संकुचित हुने तर्कहरू पनि नउठेका होइनन् ।

त्यसो भए विश्वको ठूलो लोकतान्त्रिक छिमेकी मुलुक भारतमा बंगाल, तामिलनाडु, अमेरिकामा अलाबामा, अरिजोना आदि २६ जातका आधारमा नाममा प्रदेशको नामकरण गरिएका छन् । त्यसरी नामकरण गर्दा ती देशहरू टुक्रिएका छन् त ? छैनन्, उल्टै राष्ट्रिय एकता झन् बलियो भएको छ । राज्यप्रति अपनत्व, सामाजिक सद्भाव र राष्ट्रियताको भावना अझ वृद्धि भएको छ । यसबाट हामीले कहिले सिक्ने ?

प्रतिक्रिया दिनुहोस्