जसपा विभाजनसँगै सत्ता गठबन्धनलाई राहत

सत्ता हत्याउन कांग्रेसका अनेकन चालबाजी



काठमाडौं ।

गत फागुन २१ बाट प्रमुख प्रतिपक्षको बेन्चमा पुगेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता हत्याउन गठबनधनको अनेकन विकल्पको खोजीमा छ।

वर्तमान पाँचदलीय सत्ता गठबन्धन भत्काएर नयाँ समीकरणको प्रयासमा रहेको कांग्रेसले एकैपटक दुई तरिकाले गोटी चालिरहेको हो ।

२०७९ पुस १० मा एमाले–माकेबीचको सत्ता गठबन्धन दुई महिनामै भत्काएर एक वर्ष सत्तामा रहेको कांग्रेस पुनः सत्ता बहिर्गमन भएसँगै छटपटाएको छ। सत्ता प्राप्तिका लागि कांग्रेसका एकाथरी नेताले सत्ताको मूल शक्ति नेकपा एमालेका नेताहरूसँग सत्ता सहकार्यका लागि संवाद गरिरहेका छन् भने अर्कोतर्फ नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबाट छुटाउन सके चाँडै सत्ता समीकरण भत्किने योजनालाई सँगै अघि बढाएका छन्।

कांग्रेस संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायत नेताहरू एमालेसँगको सत्ता सहकार्य गरेर जान सके देशमा बाँकी समय राजनीतिक स्थिरता आउने अभ्यासमा लागेका छन्।

संसद्मा कुनै पनि दलले साना दलहरूसँगको सहकार्यमा बहुमत पुर्‍याउन नसक्ने जनमतकै कारण अस्थिर अवस्थामा रहेको राजनीतिलाई स्थिरता दिन र जनताका पक्षमा सकारात्मक काम गर्न ठूला दलहरू मिलेर सरकार बनाउनुपर्ने नेता शेखर कोइरालाको जोड छ।

तर, कांग्रेस संस्थापन पक्षका नेताहरू वर्तमान सत्ता गठबन्धनलाई लामो समय जान नदिनका लागि एमालेसँगको संवादलाई कायम राख्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत प्रधानमन्त्रीको आश्वासन दिएर सरकारको अंक गणित घटाउने पक्षमा छन्।

यद्यपि, नेकपा एससँगै जनता समाजनवादीलाई समेत आफ्नो पक्षमा उभ्याउने कांग्रेसको प्रयासलाई असफल बनाउनका लागि नेकपा एमाले र माओवादी केन्द्रको बलमा जसपा नै विभाजन गराइदिएको छ । जसपा विभाजनसँगै वर्तमान सत्ता गठबन्धनमा बहुमत कायम राख्न केही समय राहत मिलेको राजनीतिक वृत्तमा चर्चा छ । तर, कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गर्नुभयो।

‘अस्थिरता र अविश्वासको जगमा अडिएको यो सरकारको आयु चाँडै टुंगिन्छ’, महतले भन्नुभयो– ‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ ।’

सत्तामा देखिएको अस्थितरता, छिटोछिटो सरकार परिवर्तन हुने प्रवृत्तिलाई देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गर्ने कोसिस भइरहेकाले त्यसलाई निस्तेज पार्न लोकतान्त्रिक मूल्य मान्यताको सरकार आवश्यक रहेको उहाँको दाबी छ।

अहिलेको समीकरणप्रति असन्तुष्टि जनाउँदै आएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग वैकल्पिक गठबन्धनको प्रयासमा संवाद कायमै राख्नुभएको छ। गठबन्धनभित्रको बेमेललाई राजनीतिक रूपमा फाइदा लिने कांग्रेसको दाउ छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेपछि बाध्य भएर एमालेसँग सहकार्य गर्न आइपुगेका माधव नेपाललाई उहाँको असन्तुष्टि देखेर एमाले अध्यक्ष ओलीले खान नपाएर दमको बिरामीजस्तो हर्‍याकहर्‍याक गरिरहेको सम्मको टिप्पणी गरिसक्नुभएको छ।

एमालेसहितको गठबन्धनबाट आफूले आलोपालो प्रधानमन्त्री पाउने सम्भावना नदेखेकै कारण खुलेरै ओलीको आलोचनामा उत्रिएका नेपाललाई कांग्रेसले प्रधानमन्त्रीको विश्वास दिलाउने कोसिसमा रहेको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसका सूचना तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्री प्रचण्डले नै माधव नेपाललाई प्रधानमन्त्रीका लागि अघि सार्ने तयारीमा रहेको दाबी गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पछिल्लो समय कांग्रेस–एमालेबीच संवाद भएपछि अहिले प्रचण्डजीले पनि अर्को तुरूप फ्याँक्नुभएको छ, माधव नेपाललाई प्रधानमन्त्री बनाउने, त्यसो हुँदा कांग्रेस पनि मान्छ भनेर उहाँले अहिले फेरि च्याँखे दाउ थाप्न खोज्नुभएको छ।’

यो गठबन्धन प्रधानमन्त्रीले नै फेरि तोड्ने र माधव नेपाललाई प्रधानमन्त्रीका रूपमा अगाडि बढाउन खोजेको भन्दै यसमा कांग्रेसले समर्थन गर्न सक्ने विश्वकर्माले बताउनुभयो। ‘माधवजीलाई तपाईंको पालो एक वर्षपछि भनेका थियौं। अहिल्यै आइहाल्यो, तयार हुनुस् भनेकै हौं । त्यस बेलामा उहाँले संख्या पुर्‍याउन सक्ने सम्भावना कमजोर देख्नुभयो र उहाँ प्रचण्डजीकै बाटोमा हिँड्नुभयो । अहिले उहाँहरूको यात्रामा कठिनाइ भएको छ’ –विश्वकर्माले भन्नुभयो ।

तर, प्रधानमन्त्री प्रचण्डले भने अहिले नै सत्ता गठबन्धनमा फेरबदल हुने सम्भावना नरहेको जिकिर गर्दै आउनुभएको छ । कांग्रेसलाई सत्ताको भोक लाग्यो भन्दैमा गठबन्धन परिवर्तन नहुने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो।

उता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको उहाँको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्