प्रत्येक २ मिनेटमा एक गर्भवती तथा सुत्केरी आमाको मृत्यु 



काठमाडौँ। 

प्रत्येक २ मिनेटमा १ जना गर्भवती तथा सुत्केरी आमाको मृत्यु हुने गरेको छ । यो रोकथाम गर्न सकिने कारणहरुको अवलम्बन समयमै नगरेका कारण मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अन्तर्राष्ट्रिय मिडवाईफ दिवस मे ५ का दिन मिडवाइफ सोसाईटी नेपालले आयोजना गरेको कार्यक्रममा सोसाईटीका अध्यक्ष प्रो.गोमा निरौलाले विश्व स्वास्थ्य संगठनको सन् २०२३ को प्रतिवेदन अनुसार उक्त भनाई राखेका हुन् । उनले हरेक दिन विश्वमा ८ सय जना गर्भवती तथा सुत्केरी महिलाहरुको, रोकथाम गर्न सकिने कारणहरुले मृत्यु हुने गरेको देखिएको बताउँदै मिडवाईफको परिचालन गरेमा यो समस्यालाई न्यूनीकरण गर्न सकिने बताए ।

नेपालमा प्रतिलाख जीवित जन्ममा १ सय ५१ जना  महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ । मातृ मृत्युदरलाई घटाउँन अर्थात् दिगो लक्ष्य सन् २०३० सम्म मातृ मृत्युदर ७० भन्दा कम गर्नुपर्ने लक्ष्य पुरा गर्नु चुनौतीको विषय छ । त्यसैगरी सन् २०२२ को जनसांख्यिक सर्वेक्षण अनुसार नवजात शिशु मृत्यु दर २१ प्रति हजार जीवित जन्म रहेकोमा दिगो विकास लक्ष्य अनुसार १२ मा झार्नुपर्ने लक्ष्य पुरा गर्न मिड्वाईफ जनशक्तिलाई लिनु उपयुक्त हुने प्रा.निरौलाले बताए ।

उनले भने, विश्वभर भइरहेको हरितगृह ग्यास उत्सगर्जनमा पाँच प्रतिशत भार स्वास्थ्य सेवाको हुने गरेको छ । विश्व आर्थिक मञ्चले सन् २०२३ को प्रतिवेदनमा सबैभन्दा न्यून आय भएको देशहरुले उत्सर्जनमा दशांश उत्पादन गर्ने तर जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवा प्रणालीमा गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई कम लागत, कम हस्तक्षेप र समुदायमा आधारित निरन्तर हेरचाह पुर्‍याउने जनशक्ति मिडवाईफ हुन् । मिडवाईफले प्रदान गर्ने सेवाको प्रकृतिले गर्दा पर्यावरण मैत्री, दिगो स्वास्थ्य सेवा प्रदायकको अहम भूमिकामा मिड्वाईफ रहन्छन् । साथै जलवायु प्रकोपको अवस्थामा समुदायमा आवश्यक मातृ तथा शिशु सेवा पुर्‍याउने पहिलो जनशक्ति  मिड्वाईफ हुन् । मिडवाईफहरुले प्राकृतिक प्रसव विधिहरुलाई प्राथमिकता दिन्छन् जसले कम उर्जा खपत र शल्यक्रियाबाट हुने जन्मलाई कम गर्छन् । यसका साथै आमाकै स्तनपानलाई र डिस्पोजेवल डायपर र स्यानिटाईजरलाई जोड दिन्छन् यसले वातावरणीय प्रभावलाई कम गर्छ सोसाईटीका पूर्व अध्यक्ष प्रा.किरण बज्राचार्य भन्छिन् ।

नेपालमा हाल सम्म कठमाडौ विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय लगायत ६ वटा संस्थाबाट मिडवाईफ नर्सिङ् अध्ययन पुरा गरी  ६६ जनाले नर्सिङ काउन्सिलबाट लाईसेन्स लिईसकेका छन् र आउँदो असार सम्ममा थप २० जनाले लाईसेन्स परिक्षा दिँदैछन् । नेपाल सरकारले मिडवाईफ चाहिन्छ भन्दै सन् २०३० सम्ममा ९ हजारको संख्यामा उत्पादन गर्ने भनेको छ । तर मिडवाईफका लागि सरकारी दरबन्दी अहिले सम्म नखोलिनुले पढेका व्यक्ति समेत हतोत्साहित भएका र थप अध्ययन गर्ने कोटा नै खाली रहेको छ । यदि मिडवाईफको दरबन्दी खुल्ला गरी  जिम्मेवारी दिने हो भने मातृ तथा शिशु मृत्युदरम १६ गुनाले कमगर्न सकिने अध्यक्ष निरौला बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा.अमेन्द्र यादवले आफूले मन्त्रालयमा यो विषयमा गम्भीर रुपमा कुरा उठान गर्ने बताए । त्यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसुतिगृह) का निर्देशक डा. श्रीप्रसाद अधिकारीले नर्सले जस्तो डाक्टरहरुले पर्खाई कम गर्दा सिजरिङ सेक्सन धेरै बढीछ । यसलाई कमी ल्याउँनुपर्छ यो कामका लागि उपयुक्त पात्र भनेका मिडवाइफ नर्स नै हुन् भने । कार्यक्रममा मिडवाईफहरुका तर्फबाट कविता प्रतियोगिता गरी प्रथम हुनेलाई पुरस्कृत गरियो ।

प्रतिक्रिया दिनुहोस्