चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवराज राईको उद्धार



उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार गरिएको छ । साङ्लोमा बाँधिएर खोर जीवन व्यतीत गर्दै आएका युवराजको आइतबार उद्धार गरिएको हो ।

विगत ८ वर्षदेखि मानसिक समस्या भोग्दै आएका उनलाई ४–५ वर्ष अघिदेखि साङ्लोमा बाँधेर खोरमा राखिएको थियो। २०७९ साल जेठमा उनलाई उपचारको लागि मानव सेवा आश्रममा लागिएको थियो । लगभग ११ महिना पश्चात् ठिक भएर घर फर्केका उनमा पुनः समस्या आएपछि साङ्लोमा बाँधिएर खोरमा बसिरहेका थिए ।

दिसा पिसाब र खाना एकै ठाउँमा गर्दै आएका उनलाई आइतबार नेकपा एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउतको समन्वयमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त र उप्रप्रमुख महेश्वरी राईको सहयोगमा मानव सेवा आश्रम जनकपुर पठाइएको हो ।

लामो समय साङ्लोमा जीवन बिताएका युवराजको आमाको भने निधन भैसकेको छ भने बुवा क्यान्सर पीडित छन्। युवराजको उद्धार गर्दै नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अब पुनः उनमा यस्तो समस्या हुन नदिन ठिक भएर फर्केपछि उनलाई व्यस्त गराउने वातावरण बनाइदिन स्थानीय सरकारलाई अनुरोध गरे ।

नगर प्रमुख वसन्त बस्नेतले नगर भित्रका युवराज जस्ता जो कोहीलाई नगरपालिकाले उद्धार गर्ने भन्दै उनीहरूलाई उद्धार पश्चात् समस्या हुन नदिन स्थानीयले समेत सहयोग गर्नु पर्ने धारण राखे ।

नगर उपप्रमुख महेश्वरी राईले युवराज ठिक भएर फर्केपछि उनलाई कहीं कतै रोजगार मूलक काममा व्यस्त बनाएर पुनः साङ्लोमा फर्किन नदिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरुले भने पशु झैँ खोरमा बसेका युवराजको उद्धार भएकोमा खुसी व्यक्त गर्दै उनलाई सामान्य जीवनमा फर्काई दिन मानव सेवा आश्रमसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्