स्ववियु निर्वाचनका लागि संगठन दर्ता प्रक्रियामै विवाद, नेविसंघद्वारा नाराबाजी



काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि संगठन दर्ता प्रक्रियामै विवाद भएको छ । आज (शुक्रबार) बिहान उक्त निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनले आ–आफ्नो संघ–संगठन दर्ता गर्ने प्रक्रियामै विवाद भएको हो ।

अखिल क्रान्तिकारीले बैठक नबसी संगठन दर्ता नगर्ने अडान राखेपपछि विवाद बल्झिएको छ । विवाद चर्किँदै गएपछि निर्वाचन समितिको पुनः बैठक बसेको थियो ।

बैठकमा नेविसंघले ठूलो दलको भातृ संगठनको हैसियतले आफ्नो संगठन पहिले दर्ता हुनुपर्ने भन्दै नाराबाजी गरेको छ । उसले नाराबाजी निरन्तर गर्दै आएपछि बैठक निष्कर्ष बिहीन टुंगिएको छ ।

स्ववियु निर्वाचनको संयोजक डा.शैलेन्दुप्रकाश नेपालको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले निष्कर्ष निकाल्न नसकेपछि बैठक केही समयका लागि रोकिएको छ ।

निर्वाचन समितिले सर्वदलीय बैठक नबोलाई संगठन दर्ता गर्ने सूचना जारी गरेपछि बिहानै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन क्याम्पसमा उपस्थित भएका छन् ।

यसका लागि आज बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्ने जनाइएको छ ।

निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी संगठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने हुन्छ ।

स्ववियु निर्वाचनका लागि चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्