जनआन्दोलनका घाइतेको पीडा : राज्यले त ठग्यो ठग्यो सहकारीले पनि ठग्यो

0
Shares

पोखरा । पोखरा महानगरपालिकामा अस्ति बुधबार केही हुल आएर हो हल्ला गरे । रिस्सिँदै आएका उनीहरू महानगरमा आफ्नो समयस्या राखेको पनि महिनौं बितिसकेको रहेछ । लामो समयसम्म पनि केही न्याय नपाएपछि पुनः महानगर घेराउ गर्ने हेतुले महानगर आए । उनीहरूलाई साम्य पार्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बैठक कक्षमा लगेर गुनासो सुन्नुभयो । त्यो भीड थियो पोखरा महानगरपालिका–४ नालामुख मार्ग सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गर्न आउनेहरूको ।

विगत ६ महिनादेखि उनीहरूले सहकारीबाट रकम निकाल्नै पाएका रहेनछन् । सोही भीडमा थिए वैशाखी टेकेका नेत्रपाणि सुवेदी । उहाँको ढाड भाँचिएको हो । २०६२÷०६३ सालमा भएको जनआन्दोलनको बेलामा प्रहरीको कुटाइबाट घाइते भएका सुवेदी अहिले वैशाखीको सहायताले हिँड्न बाध्य हुनुहुन्छ । कास्कीकोट घर भई हाल पोखरा–६ बस्दै आएका उहाँले औषधि खाने १२ लाख रुपियाँ सूर्यदर्शन सहकारीमा लगानी गर्नुभयो । तर, ६ महिनादेखि उहाँले रकम निकाल्न पाउनुभएको छैन । ‘सूर्यदर्शन भन्ने सहकारीमा हामीले लगानी गरेका हौं । यो सहकारीले अर्ब होइन खर्ब पैसा खाएको छ । यसमा लगानी र बचत गर्ने बचतकर्ता धेरै छन् । सबैको पैसा खाएको छ’, उहाँले भन्नुभयो– ‘म जनआन्दोलनमा घाइते भएको व्यक्ति हुँ मैले औषधि खान जम्मा गरेको १२ लाख रुपियाँ यिनीहरूले खाइदिए । मलाई सरकारले हेर्दैन । नेता सबै सामन्त हुन् ।’

उक्त सहकारीमा ९ हजार जति बचत तथा लगानीकर्ता रहेका छन् । उहाँले सहकारीका सञ्चालक राजनैतिक संरक्षणमा रहेको आरोप समेत लगाउनुभयो । उक्त सहकारीको सञ्चालक डिबी राई रहेका र रकम माग्न जाँदा तिमीहरूलाई जे पनि गर्न सक्छु भन्दै धम्की दिने गरेको सुवेदीले बताउनुभयो ।

यस्तै, जीवन बिमा गर्नका लागि रकम जम्मा गर्दै आएकी पोखरा–१ बगरकी एक महिलाले लामो समयदेखि रकम निकाल्न नमिलेको बताइन् । उनले छोराछोरीको जीवन बिमाका लागि सूर्यदर्शनमा रकम बचत गर्दै आएको सुनाइन् । ‘धेरै भयो हामीले पैसा लिन पाएका छैनौं । पहिला त पैसा लिन आउँथे आजकल त आउन पनि छाड्यो’, उनले भनिन्– ‘सञ्चालक भाग्यो भन्छन् । मैले बल्ल थाहा पाएँ । हामी त केही कारणले मिलेन होला भन्ने ठानेका थियौं तर यहाँ कुरा अर्कै रहेछ ।’ राज्य नै संरक्षणमा लागेको उनीहरूको आरोप छ । महानगरलाई यो विषयमा जानकारी गराउँदा प्रक्रियामा रहेको भन्दै लम्ब्याउने काम मात्रै गरेको उनीहरूले सुनाए ।

उनीहरूसँगको छलफलमा मेयर धनराज आचार्यले सञ्चालक समितिको गल्ती रहेको बताउनुभयो । उहाँले उक्त सञ्चालक समितिले नागरिकको लगानीलाई अन्यत्र लगानी गरेको कुरा सुन्नामा आएको समेत सुनाउनुभयो । यस्तै, आचार्यले बचत तथा लगानीकर्तालाई झुक्याउन डमी सञ्चालक समिति बनाउने काम गरेको समेत बताउनुभयो । ‘सञ्चालक समितिको केही न केही कैफियत पक्कै छ । डमी सञ्चालक समिति बनाउने अनि भाग्ने गर्न खोजेको सुनेको छु । हामीले सूर्यदर्शन सहकारीको नाममा भएको चलअचल सम्पत्ति रोक्का गर्न लगाएका छौं’ –आचार्यले भन्नुभयो ।

केही महिनाअघि भएको संस्थाको साधारणसभा समेत नाटकीय रहेको बचत तथा लगानीकर्ताको आरोप छ । उक्त साधारणसभासमेत विवादित बनेको एक बचत कर्ताले बताए । पीडितमध्येकै एक जनाले तत्कालीन गृहमन्त्री रवि लामिछानेको डर देखाउँदै सार्वजानिक रूपमै धम्की दिएको समेत बताए ।

महानगरले पीडितको तर्फबाट पाँच जनाको समिति बनाएर महानगरमै छलफल गरेको र एक हप्ताभित्र नतिजा आउने गरी काम गर्ने प्रतिबद्धता दिएको एक पीडितले बताए ।