पृथ्वीचोकमा दुईवटा पुल निर्माण हुँदै : दुर्घटना न्यूनीकरण र सवारी जाम घट्ने विश्वास



पोखरा । २०५५ सालमा पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल बनेको छ । जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा सेती नदी पुल बनेको हो ।

तीन स्पान संख्या भएको १८० मिटर लम्बाईको दुई लेनको पुल निर्माण भएको छ । पुल ०५५ कार्तिक २६ गते तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेसंगै सञ्चालनमा आएको थियो ।

२४ वर्षअघि बनेको उक्त पुलमा सवारी साधनको आवत जावतले साँधुरिँदै गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त पुल पोखराको मुख्य बसपार्कसंग जोडिएको पुल हो । पुल साघुँरो भएकै कारण दैनिकजसो दुर्घटना समेत हुने गरेको छ ।

दुईतर्फ फराकिलो सडक बनेपनि पुल भने अझै साघुँरो छ । चाइनापुलले परिचित उक्त स्थानमा नयाँ डिजाइनका दुईवटा पक्की पुल निर्माण हुने भएको छ । पोखराको सेती नदीमाथि रसुवा कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणको जिम्मा पाएसंगै निर्माण प्रक्रिया शुरु गरिएको छ ।

कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाका अनुसार नेपालमा बनेका पुलहरुमध्ये नितान्त फरक प्रकृतिको पुल निर्माण हुने भएको छ । निर्माण हुने पुलको बिचको स्पाम १४० मिटर, फुटपाथको क्षेत्र २५÷२५ मिटरको स्पाम क्षेत्रफल राखेर १ सय ९० मिटरको पुल निर्माण हुने भएको देवकोटाले जानकारी दिए ।

हाल पोखरा रंगशालाको दक्षिण उत्तरतर्फको क्षेत्रमा अस्थायी क्याम्प निर्माण गर्न शुरु गरिएको छ भने निर्माण सामाग्री फेब्रिकेसन र कंक्रिटका सामानहरु ल्याउन थालिएको छ । हाइ स्टे«ेन्थको कंक्रिट पुल निर्माण हुने भएकोले केही समय पछि पुल निर्माण स्थलमा रेडिमिक्सचर राखिने भएको छ ।

हाल सञ्चालनमा रहेको चाइना पुलको उत्तर र दक्षिण साइडमा दुईवटा पुल चाइना पुलकै लेवलमा निर्माण हुनेछ । गाडी गुड्ने भाग साँढे ७ मिटर फुटपाथको रुपमा भने दुवै पुलको ३÷३ मिटरको क्षेत्र रहने उनको भनाइ छ । साढे १० मिटरको पक्कि पुल निर्माण हुने भए पनि केही भाग टावरसहित गर्दा १३ मिटरको पुल निर्माण हुने उनले बताए ।

चिनियाँ कम्पनीले निर्माण गरेको हाल सञ्चालित पुल ९० मिटरबीचमा राखिएको छ भने सेतीको भाग जोखिम होला भनेर अब बन्ने पुलमा आफुहरुले १४० मिटरको जग राख्ने उनले बताए । पुलको डिजाइन र नक्सासमेत निर्माण कम्पनीले नै बनाउने भएको पुल उत्कृष्ट हुनेमा आशावादी रहेको उनले बताए ।

उक्त परियोजना सेप्टेम्बर २०२२ मा सम्झौता भएको थियो । ३६ महिनामा निर्माण गर्नेगरी सम्झौता भएको थियो । पुलको डिजाइनको समयनै ६ महिना रहेको उनले बताए ।

समय सीमाभित्र उक्त पुल निर्माण गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले पुल निर्माण गर्न नक्सा स्विकृतका हाल पेश गरिसकेको छ । पोखराको सेतीनदीमा ९४ करोडको लागतमा दुईवटा पुल निर्माण भएसँगै चाइना पुलसहित ३ वटा पुलमा आवाज जावात गर्न सकिने भएको छ । उक्त पुल पोखराको लागि नौलो र सेल्फि बृजको रुपमा निर्माण हुने भएको कम्पनीले जनाएको छ ।

यसैबीच पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै उक्त पुल जतिसक्दो छिटो निर्माण गर्न पोखरा महानगरले आवश्यक समन्वय गर्न तयार रहेको महानगरका मेयर धनराज आचार्यले बताउँदै आएका छन् ।

उता ट्राफिक प्रहरीले पनि हाल सञ्चालनमा रहेको पुल निकै साघुँरो भएकाले दुर्घटना र सवारी जाम हुने गरेको बताउँदै आएको छ । ट्राफिक प्रहरीले पनि उक्त स्थानमा अब नयाँ पुल बन्न आवश्यक रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्